२६ भदौ, एजेन्सी । भारत र चीनबीच लद्दाखको सीमा क्षेत्रमा उत्पन्न सिमाविवादका कारण सिर्जित तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच रुसको राजधानी मस्कोमा भएको बैठकमा सहमति भएको हो ।
सांघाई सहयोग संगठन(एससीओ)को बैठकमा सहभागी हुन दुवै देशका विदेशमन्त्री मस्को पुगेका थिए । बैठकपछि जारी संयुक्त प्रेस वक्तव्यमा सहमतिअनुसार दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन नेतृत्वको मार्गदर्शन लिने र आपसी असमझदारीलाई विवादमा परिणत हुन नदिन सहमति भएको उल्लेख छ ।
त्यसैगरी सहमतिको तेस्रो बुँदामा सीमामा हाल देखिएको परिस्थिति दुवै देशको हितमा नभएकाले विवाद समाधान र सेनालाई पछाडि हटन र तनाव गर्नका लागि सैन्यस्तरमा वार्ता जारी राख्ने भनिएको छ ।
भारत र चीनबीच सीमा विवाद सुल्झाउनका लागि सन् २००३ मा त्यस्तो संयन्त्रको गठन गरिएको थियो । जसको नेतृत्व हाल भारतका तर्फबाट प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका तर्फबाट विदेश मन्त्री वाङ यीले गर्ने गरेका छन् ।
त्यसैगरी जयंशकर र यीबीचको बैठकमा परिस्थिति सामान्य हुनासाथ दुवै देशबीच नयाँ विश्वास जगाउन र सीमा क्षेत्रमा शान्ति स्थापना गर्न पनि सहमति भएको छ । उक्त बैठक बिहीबार करिब तीन घन्टा चलेको थियो ।
बैठकमा चिनियाँ विदेशमन्त्रीले पनि चीन र भारत एक अर्काका लागि प्रतिस्पर्धी र खतरा नभएको बरु साझेदार मित्र र एकअर्काका लागि विकासको अवसर भएको उल्लेख गरेका थिए । त्यसैगरी विज्ञप्तिमा विदेशमन्त्री यीले जबसम्म दुवै पक्ष सम्बन्धलाई सही दिशामा डोरÞ्याइरहन्छन् त्यतिबेलासम्म जुनसुकै अप्ठ्यारा र चुनौतीलाई पार पाउन सकिनेमा जोड दिएको उल्लेख छ ।
यसअघि मस्कोमै भारत र चीनका रक्षामन्त्रीहरुको बैठकसमेत बसेको थियो । तर, उक्त बैठक बसेको दुई दिन नबित्दै भारत र चीनबीच सीमाक्षेत्रमै फेरि तनाव चर्किएको छ ।
गत सोमबार राती पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित समा सीमा क्षेत्रमा भएको फायरिङका कारण फेरि दुई देशबीच तनावपूर्ण स्थिति बनेको हो । उक्त घटनालाई लिएर दुवै देशबीच आरोप प्रत्यारोप पनि सुरु भएको थियो । दुवै देशले आफ्नो तर्फबाट गोली नचलाएको दाबी गरेका छन् । सीमा क्षेत्रमा गोली चलेको पछिल्लो घटना भने पैतालीस वर्षपछिको पहिलो भनिएको छ ।
दुई देशबीच करिब पैतीस सय किलोमिटर सीमाको विभिन्न खण्डमा तनाव हुँदै आए पनि गोली भने चलेको थिएन । सीमा विवादलाई नै लिएर सन् १९६२ मा दुई मुलुकबीच युद्धसमेत भएको थियो । चार महिनादेखि कायम विवाद भनेको पूर्वी लद्दाख सीमा क्षेत्रमा हो ।
चीन र भारतबीचको विवादास्पद क्षेत्रलगायतका केही सीमा क्षेत्रलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बाट छुट्टयाइएको छ । दुवै मुलुकले समयसमयमा एकअर्कालाई एलएसीको उल्लघंन आरोप लगाउँदै आएका छन् । गत जुनको दोस्रो सातादेखि गलवान उपत्यका, तातो पानी र प्याङगङ ताल क्षेत्रको त्यही एलएसीमा भएको अतिक्रमणलाई लिएर तनाव चर्किएको हो ।
१५ जुनमा गलवान उपत्यकाको एलएसी क्षेत्रमा दुई देशका सैनिकहरुबीच हिंसात्मक झडप नै भएको थियो । उक्त झडपमा २० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ पक्षमा भएको क्षति भने सार्वजनिक भएको थिएन । उक्त घटनापछि दुई देशबीचको तनाव उत्कर्षमा पुग्यो ।
यद्यपि यसबीचमा दुई मुलुकको उच्च राजनीतिक स्तरमा भएको भेटघाट र संवाद नभएको होइन । तर, ती भेटघाट र छलफलहरुबाट कुनै ठोस सहमति जुट्न सकेको छैन । जसले गर्दा दुई देशबीचको तनाव कायमै छ ।
गलवान झडपपछि भारतले चीनविरुद्ध सीमाक्षेत्रमा नभएर आर्थिक र व्यापारिक क्षेत्रमा आक्रमण रणनीतिक अख्तियार गरेको छ । उसले चिनियाँ कम्पनीहरुका कैयौं ठेक्का रद्द गरेको छ भने दुई सयभन्दा बढी चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाइसकेको छ ।