१७ आश्विन, ओखलढुंगा ।
बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।
शनिबार बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोली ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको शिखरमा पुगेको हो । सेभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका खलिफाका साथमा माउन्टेन गाइड मिङ्मा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली शिखरमा पुगेको सेभेन समिटका निर्देशक दावा शेर्पाले बताए ।
सेभेन समिटले आफ्नो फेसबुक पेजमार्फत पनि राजकुमारको टोलीले लोबुचेको सफलतापूर्वक आरोहण गरिएको जनाएको छ । खलिफाले अब गोरखाको मनास्लु हिमाल आरोहण गर्नेछन् ।
उक्त टोलीले अक्टोबर १५ देखि २० भित्र मनास्लु आरोहण गर्ने अहिले मनास्लु आधारशिविरमै रहेका सेभेन समिटका निर्देशक दावाले बताए । बहराइनबाट आरोहणका लागि १८ जनाको टोली आएको थियो । सन् २०२० लागेयता नेपालका कुनै पनि हिमाल आरोहण भएको यो पहिलोपटक हो ।