१८ असोज, काठमाडौँ । २१ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । एक घण्टाअघिदेखि उनलाई छातीमा निकै पीडा महसुस हुन थालेको केसीका सहयोगीले बताएका छन् ।
हाल केसीका साथमा रहेकी सहयोगी डा. तोसिमा कार्कीका अनुसार छातीमा अत्यधिक पीडा महसुस गरेसँगै उनको शरीरमा अक्सिजनको मात्रा पनि घट्दै गएको छ ।
कार्कीका अनुसार डा. केसीले अक्सिजनबाहेक अन्य कुनै औषधि नलिने बताएका छन् । केसीको उपचारको नेतृत्व गरिरहेका शिक्षण अस्पतालको क्रिटिकल विभाग प्रमुख डा. सुवास आचार्यले उनलाई कुनै पनि बेला आईसीयूमा सारेर उपचार सुरु गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिएको पनि उनले बताइन् । उनका अनुसार केसीको रक्तचाप पनि घट्दै गएको छ ।
डा. सुवासका अनुसार डा. केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ ।
केसीको यो १९ औं अनशन हो । हालसम्म उनको माग सम्बोधन गर्न वा उनीसँग वार्ता गर्न सरकारी पक्षले चासो देखाएको छैन ।