१९ असोज, सिन्धुपाल्चोक ।
कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब छ महिनापछि शैक्षिक संस्थाहरु स्थान विशेषमा आंशिक रुपमा सञ्चालनमा आँउदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालिकाको सिकाइस्तर भने खस्किएको पाइएको छ ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७, डाँडागाँउका सन्तोष नेपाली श्री पन्चकन्या आधारभूत विद्यालयको ६ कक्षाको प्रथम विद्यार्थी हुन् । कक्षा पाँचबाट प्रथम भएर छ मा गएका सन्तोष छ महिनापछि मात्रै कक्षा छ को पढाइ गर्न विद्यालय आउन पाँउदा खुसी छन् । घरमा बस्दा कहिले घरायसी काम त कहिले साथीभाइसँग खेलेरै समय विताएका नेपाली आफुलाई पढ्नुपर्छ भन्ने चाँही लागेको बताउछन् । तर पनि विद्यालय आएर नियमित पढेजस्तो चाँही नभएको उनको अनुभव छ । सन्तोष कोरोनाको त्रासको विचमा विद्यालय आउनुपर्दा माक्स लगाएर आउने गर्दछन् । घरबाट निस्कने बेला स्यानिटाइजर लगाएर आउने गरेका उनी विद्यालयमा भने पटक पटक साबुनपानीले हात पनि धुने गर्दछन् । लकडाउन खुकुलो भएसँगै विद्यालय सञ्चालन भएर पढ्न पाँउदा आफु खुसी भएको उनको भनाई छ ।
सोही ठाँउका सुस्मीता भण्डारी पनि कक्षा ६ मा नै पढ्छिन् । कोरोना महामारीकै बीचमा विद्यालय सञ्चालन हुँदा आफु सचेत र सुरक्षित भएर विद्यालय आउने गरेको उनले बताइन् । लामो समय विद्यालय बन्द हुँदा साथीहरुसँग भेटघाट गर्न नपाएकोले दुःखी भएपनि अहिले भने विद्यालय खुलेपछि सबै साथीहरुसँग भेट गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् । कोरोना संक्रमणबाट जोगिन भने रुखाखोकी लागेको साथीलाई विद्यालय नआउन भन्ने गरेको र आइहालेमा दुरी कायम गरेर मात्रै बस्ने गरेको उनको भनाई छ । पटक पटक साबुनपानीले हात धुने गरेकी सुस्मिता पनि घरमा बस्दा पढाइलाई खासै समय दिन नसकेको स्विकार्दै विद्यालय खुल्दा खुसी लागेको बताइन् ।
सुस्मिताकी आमा लक्ष्मी भण्डारीले पनि विद्यालय खुलेकोमा आफु धेरै खुसी भएको बताइन् । आफ्ना बच्चा घरमा बस्दा पढाइमा खासै समय दिन नसकेको उनको भनाई छ । छोराछोरी घरमै बरालिएर बस्दा पढाइमा खासै समय नदिएकोमा अहिले विद्यालय खुलेपछि भने बच्चाको शैक्षिक स्तर सुधार हुने उनको अपेक्षा छ ।
पञ्चकन्या आधारभुत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेल लामो समयपछि विद्यालय खुल्दा विद्यार्थीको शैक्षिक स्तर भने खस्किएको पाएको बताए । कोरोना महामारीबाट बच्न सबैजसो स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरे पनि सबै विद्यार्थीले सो मापदण्ड पुरा गर्न नसकेको उनको भनाई छ । छ महिना मात्रै विद्यालय बन्द हुँदा पनि विद्यार्थीको शैक्षिक स्तर धेरै खस्किएको पाएको उनले बताए ।
अझैै पनि देशभरीका शैक्षिक संस्था बन्द रहेका छन् । कतिपय विद्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय संञ्चालनको तयारी गरिरहेका छन् । सरकारले वैकल्पिक माध्यमका पढाइ सञ्चालन गर्न भनेपनि खासै प्रभावकारी बन्न नसकेको जानकारहरु बताउँछन् ।