साझाको प्रश्नः के सरकारले डा. केसीलाई मार्नै खोजेको हो ?

१९ आश्विन, काठमाडौँ ।

Advertisement

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकारले क्रुर असंवेदनशीलता प्रकट गरेको आरोप साझा पार्टीले लगाएको छ ।

सरकारी वेवास्ताले डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने चेतावनी समेत साझा पार्टीले दिएको छ । चिकित्सा क्षेत्रको सुधारका विभिन्न माग राखी २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारले उदासीनता देखाएको भन्दै साझा पार्टीले चिन्ता व्यक्त गरेको छ ।

Advertisement

डा. केसीले १९औँ अनशनमा राखेका कुनै पनि माग नाजायज नभएको भन्दै सरकारले विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग पूरा गर्नुपर्ने पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

डा. केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा भए पनि यिनै दलले पटक–पटक सरकारको नेतृत्व गर्दा पनि उस्तै माग राखेर पटक–पटक अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको साझा पार्टीले बताएको छ ।

Advertisement

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र डा. केसी ६ पटक अनशन बसिसकेको उल्लेख गर्दै साझा पार्टीले यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको र वार्ता टोलीसम्म गठन नगर्नु दुःखद भएको बताएको छ । के सरकारले डा. केसीलाई मार्नै खोजेको हो? भनेर पनि सरकारसँग प्रश्न गरेको छ ।

पछिल्लो पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा. केसी तिनै मागहरूसहित पुनः अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन ? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ ?, साझा पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारी बेवास्ताले डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने पनि साझाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top