Nepal Times
Nepal Times
3
Shares

अरब सागरमा ‘ताउ ते’ नामक चक्रवात विकसित, नेपाल पनि प्रभावित हुने

अरब सागरमा ‘ताउ ते’ नामक चक्रवात विकसित, नेपाल पनि प्रभावित हुने

२ जेठ, काठमाडौँ । अरब सागरमा ‘ताउ ते’ नाम दिइएको एक चक्रवातको विकसित भएको छ । उक्त चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । ‘ताउ ते’ चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविदको पूर्वानुमान छ ।

मौसमविद मञ्जु वासीका अनुसार नेपालमा चक्रवातको असर भोलि (सोमबार)देखि नै देखिन थाल्ने अनुमान गरिएको छ । भोलि विशेष गरी पश्चिम भूभागमा बदली हुनेछ । अहिलेसम्मको विश्लेषणअनुसार पर्सि देशैभर मौसम बदली गराउने र वर्षा हुनेछ ।

‘ताउ ते’ सन् २०२१ को पहिलो चक्रवात हो । यसको बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा पर्ने मौसमविद्को अनुमान छ ।

यो चक्रवात गुजरात क्षेत्रमा सोमबार साँझ जमिनमा ठोक्किने पूर्वानुमान छ । त्यसपछि यसको गति र दिशाको विश्लेषण गरेर नेपालमा पर्ने थप असरबारे भन्न सकिने मौसमविद् वासी बताउँछिन् ।

मौसमविद्का अनुसार जमिनमा ठोक्किएपछि चक्रवात कमजोर हुने गर्दछ र यसको गतिसँगै दूरी पनि परिवर्तन हुने गर्दछ । ‘नेपालभन्दा पश्चिमतिर गयो भने नेपालमा यसले कम असर गर्छ । तर यदि यो उत्तरपूर्वतिर गयो भने नेपालमा बढी असर पर्छ,’ मौसमविद् वासीले भनिन् ।

गोवा क्षेत्रको जमिनमा ठोक्किइसकेको यो चक्रवात गुजराततर्फ अघि बढेको भारतका मौसमविद्ले बताएका छन् । आगामी १२ घण्टासम्म यो निकै शक्तिशाली तुफानमा बदलिने आशंका छ । यो चक्रवातको बढी असर गुजरातमा पर्ने पूर्वानुमान छ ।

प्रभावित क्षेत्रमा भारी वर्षा र तुफान आउने भएकाले सतर्क रहन भारतको मौसम विभागले यसअघि नै पूर्वसूचना जारी गरिसकेको छ । सोही सूचनाको आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार महाराष्ट्र, केरल, तमिलनाडु, कर्नाटक र गुजरातका उच्च अधिकारीहरुसँग छलफल गरी पूर्वतयारीबारे जानकारी लिएका थिए । राज्य सरकारहरुले उद्धारकर्मीलाई तयारी अवस्थामा राखेको, वायु सेनाले उच्च सतर्कता अपनाएको लगायतका समाचार आइरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.