Nepal Times
Nepal Times
3
Shares

आइपीएल: पन्जाबले बेंगलोरलाई ९७ रनले हरायाे, राहुलको कीर्तिमान

आइपीएल: पन्जाबले बेंगलोरलाई ९७ रनले हरायाे, राहुलको कीर्तिमान

९ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पञ्जाबसँग लज्जास्पद हार बेहोरेको छ । बिहिबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडिमयममा भएको खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।

जितका लागि २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोर १७ ओभरमा १ सय ९ अलमा अल आउट भयो । बेंगलोरका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

विशाल लक्ष्य पछ्याएको बेंगलोरले पहिलो ओभरको चौथो बलमै ओपनर देवदत्त पाडिक्कललाई एक रनमा गुमाएको थियो । पाडिक्कललाई तीव्र गतिका बलर शेल्डन कटरेलले रबि बिश्रोईबाट क्याच गराएका थिए । दोस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर मोहम्मद शामीले युवा ब्याट्सम्यान तथा विकेटकिपर जोश फिलिपेलाई शून्यमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काए ।

कटरेलले तेस्रो ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई बिश्रोईबाटै एक रनमा क्याच गराउँदा बेंगलोर ४–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि एबी डिभिलियर्स र आरोन फिन्चले ४९ रनको साझेदारी गर्दै सम्हाल्न प्रयास गरेका थिए ।

आठौं ओभरको पाँचौ बलमा फिन्चलाई युवा स्पिनर बिश्रोईले २० रनमा बोल्ड आउट गरे । फिन्चले २१ बलमा तीन चौका प्रहार गरे । लगत्तै नवौं ओभरको दोस्रो बलमा मुरुगन आश्विनले शरफराज खानबाट एबी डी भिलियर्सलाई २८ रनमा क्याच आउट गराउदै ५७–५ को अवस्थामा पुर्याउँदै पन्जाबलाई जिततर्फ लम्काँएका थिए । ग्लेन म्याक्सवेलले १३ औं ओभरको अन्तिम बलमा शिवम दुबेलाई १२ रनमा बोल्ड आउट गरे । १४ औं ओभरको अन्तिम बलामा बिश्रोईले उमेश यादवलाई शून्यमा बोल्ड आउट गरे । मुरुगन आश्विनले नवदीप सैनीलाई ६ रनमा बोल्ड आउट गरे ।

 

पन्जाबका रबि बिश्रोईले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । शेल्डन कटरेलले ३ ओभरमा १७ रन २ खर्चेर विकेट लिए । मुरुगन ३ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । ग्लेन म्याक्सवेल र मोहम्मद शामीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । पन्जाबलाई विशाल योगफलमा पुर्याउन कप्तान तथा ओपनर लोकेश राहुलले उत्कृष्ट शतकीय अविजि इनिङ खेले । राहुल ६९ बलमा १४ चौका र ७ छक्का सहित १ सय ३२ रनमा अविजित रहे ।

 

राहुलले १९ औं ओभरको पहिलो बलमा डेल स्टेनलाई पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै मात्र ६२ बलमा शतक प्रहार गरेका थिए । यो शतक जारी आइपिएलको पहिलो शतक हो । योसँगै राहुल आइपिएल इतिहासमा कप्तानको रुपमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

१९ औं ओभरमा डेल स्टेनले ३ छक्का र २ चौका सहित कुल २९ रन खर्चेका थिए । त्यसअघि राहुललाई कोहलीले दुई पटक क्याच छोड्दै जीवनदान दिएका थिए ।

१७ औं ओभरको अन्तिम बलमा राहुलको ब्यक्तिगत ८३ रनमा जीवनदान पाएका थिए । डेल स्टेनको बलमा ठूलो सट खेलेका राहुललाई कोहलीले डीप मिडविकेटमा क्याच छोड्न पुगेका थिए । १८ औं ओभरको अन्तिम बलमा पनि कोहलीले क्याच छोडेका थिए ।

पन्जाबलाई ओपनर मयंक अग्रवाल र राहुलले ७ ओभरसम्म ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको अन्तिम बलमा स्पिनर युजभेन्द्र चहलले गुगली बलमा अग्रवाललाई २६ रनमा बोल्ड आउट गर्दै राम्रो साझेदारी तोडे । उनले २० बलमा ४ चौका प्रहार गरे । दोस्रो विकेटका लागि राहुलले निकालेस पूरनसँग पनि ५७ रनको साझेदारी गर्दै बेंगलोरलाई दबाब बढाए ।

मध्यगतिका बलर शिवम दुबेको १४ औं ओभरको पहिलो बलमा १७ रनमा एबी डिभिलियर्सबाट क्याच आउट गराए । पूरनले १८ बलमा १ चौका प्रहार गरे । दुबेलेनै १६ औं ओभरको दोस्रो बलमा अरोन फिन्चबाट ग्लेन म्याक्सवेललाई ६ बलमा ५ रनमा क्याच आउट गराए । करुण नायर ८ बलमा २ चौका सहित १५ रनमा अविजित रहे । युजभेन्द्र चहलले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । शिवम दुबेले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । पन्जाबले तेस्रो खेलमा आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

त्यस्तै पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । तेस्रो खेलमा बेंगलोरले सोमबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.