Nepal Times
Nepal Times
3
Shares

इजरायल र नेपालबीच कामदार लैजाने प्रोटोकलमा हस्ताक्षर, तत्काललाई ५ सय नेपाली केयरगिभर लगिँदै

इजरायल र नेपालबीच कामदार लैजाने प्रोटोकलमा हस्ताक्षर, तत्काललाई ५ सय नेपाली केयरगिभर लगिँदै

८ माघ, काठमाडौँ । इजरायलले ५ सय जना नेपाली नागरिकलाई केयरगिभरका रुपमा लैजाने भएको छ । बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलीय राजदूत खनान गोडेरले एक सम्झौतामा हस्ताक्षर गरेसँगै तत्कालका लागि ५ सय जना नेपाली नागरिक इजरायलका केयरगिभरका रुपमा काम गर्न जाने बाटो खुलेको हो ।

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि बिहीबार ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य र इजरायली विदेशमन्त्री गाबी अश्केनाजीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता नेपालीहरुलाई रोजगारीका लागि इजरायल जान ढोका खोल्ने फ्रेक वर्क सम्झौता भएको बताइएको छ ।

सरकार–सरकारबीच सम्झौता भएकाले कामदार पठाउने प्रक्रियामा म्यानपावर संलग्न हुनेछैन । इजरायल जाँदा लाग्ने हवाई खर्च श्रमिक आफैले तिर्नुपर्नेछ । यसअघि २००९ सम्म म्यानपावरले पाइलट प्रोजेक्टअन्तर्गत इजरायलमा कामदार पठाउँदै आएका थिए । तर म्यानपावरले कामदार पठाउन धेरै रकम असुलेको गुनासो बढेपछि उक्त प्रक्रिया रोकिएको थियो ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत खनान गोडेरले नेपाली श्रमिक लैजाने प्रक्रियालाई अब निरन्तरता दिने बताए ।

श्रममन्त्री गौरीशंकर चौधरीले केयरगिभरका साथै कृषि क्षेत्रमा नेपाली कामदार लैजाने व्यवस्था मिलाउन पनि राजदूत गोडेरसँग आग्रह गरेका थिए ।

इजरायलको श्रम कानुन निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ । इजरायललाई श्रमिकमैत्री र आयआर्जन राम्रै हुने देशका रुपमा लिइन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.