Nepal Times
Nepal Times
3
Shares

एकाधिकार नियम उल्लंघन गरेको आरोपमा अलिबाबामाथि ३ खर्ब रुपैयाँको जरिवाना

एकाधिकार नियम उल्लंघन गरेको आरोपमा अलिबाबामाथि ३ खर्ब रुपैयाँको जरिवाना

२८ चैत्र, एजेन्सी ।
चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा २ अर्ब ७५ करोड अमेरिकी डलर(करिब ३ खर्ब नेपाली रुपैयाँ) जरिवाना गरेको छ ।
यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो ।

क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो । समाचार संस्था रोयटर्सका अनुसार अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको करिब ४ प्रतिशत जरिवानामा बुझाएको छ ।

चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेसन फर मार्केट रेगुलेसन(एसएएमआर)गत डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो ।

एसएएमआरले अलिबाबाले चीनको एन्टी–मोनोपोली कानुन उल्लंघन गरेको बताएको छ । अलिबाबाले चिनियाँ सामाजिक सञ्‍जाल वेइपोमार्फत एसएएमआरको निर्णय मान्ने र व्यावसायिक सुधार गर्दै लैजाने बताएको छ ।

चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका थि ।

यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।

तर अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक माले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उनी र उनीका व्यवसाय सरकारी निकायहरुको आँखाका तारो बनेका थिए ।

गत नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरुले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी “एन्ट ग्रुप”ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ–शाङ्घाई प्रारम्भिक शेयर निश्कासनलाई रोकिदिएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.