Nepal Times
Nepal Times
3
Shares

एमाले महाधिवेशन : उद्घाटन स्थलमा मञ्च निर्माण धमाधम

एमाले महाधिवेशन : उद्घाटन स्थलमा मञ्च निर्माण धमाधम

६ मंसिर, चितवन ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ। मंसीर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुन गइरहेको महाधिवेशनको तयारी तीव्र पारिएको छ।

स्थानीय स्तरमा नेकपा एमाले चितवनले महाधिवेशनलाई भव्य बनाउनका लागि मञ्च व्यवस्थापन देखि लिएर अन्य आवश्यक तयारी गरिरहेको छ। एमाले चितवनकी अध्यक्ष पार्वती रावलले स्थानीय स्तरबाट गर्नुपर्ने सम्पूर्ण काम तीव्र गतिमा अघि बढेको जानकारी दिइन्।

‘९ गतेसम्म मञ्चको व्यवस्थापनदेखि अन्य सबै तयारी पुरा गरिसक्छौं,’ उनले भनिन्, ‘त्यसका लागि एमाले चितवन, स्वयंमसेवकदेखि काठमाडौंबाट आएका नेता कार्यकर्ता खटिरहनु भएको छ।’

नेकपा एमालेले नारायणी नदीको किनारमा महाधिवेशनको उद्घाटन गर्दै छ। त्यसका लागि नदी किनारमा भव्य मञ्च निर्माणको काम भइरहेको छ। अध्यक्ष रावलले ९ गतेसम्म मञ्च पूर्ण रुपमा निर्माण गरेर तयार गरिने जानकारी दिइन।

बिहान देखि अबेर साँझसम्म नै मञ्च निर्माणको काममा प्राविधिकहरु खटिएका छन्। नदी किनारमा माटो सम्याउने कामदेखि लिएर अन्य कामहरु भइरहेको छ।सवारीसाधनको व्यवस्थापनका लागि नारायणी पारि र वारि विभिन्न स्थानहरु तयार गरिदैछ।

एमालेले उद्घाटन समारोह नारायणी नदी किनारमा आयोजना गर्ने भए पनि बन्दसत्र भने पर्यटकीय क्षेत्र सौराहमा हुनेछ। त्यसको पनि तयारी धमाधम भइरहेको अध्यक्ष रावलले जानकारी दिइन्।

देशभरबाट सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिसहितको आवास व्यवस्थापन लगायतको काम भइसकेको छ। करिब ३५ सय मानिसहरुको आवासका लागि होटल बुकिङ गरिसकिएको छ। भने त्यहाँ बन्दसत्रमा छलफलका लागि होटल सेभेन स्टार क्षेत्रमा आवश्यक व्यवस्थापनको काम अघि बढाइएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.