Nepal Times
Nepal Times
3
Shares

कर्णालीमा ११ हजार पाँच सय हेक्टरको धान नष्ट

कर्णालीमा ११ हजार पाँच सय हेक्टरको धान नष्ट

७ कार्तिक, दैलेख ।

किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले खेतमै नष्ट पा–यो । त्यही नष्ट पारेको धान पनि माटो खोस्रेर बिउ बनाउने आशमा किसानहरू बटुल्न थालेका छन् ।

गत आइतबारदेखि लगातार तीन दिन परेको अविरल वर्षातले नष्ट गरेको धानलाई माटो खोस्रेर भए पनि बिऊ बनाउने सोचमा रहेको किसानहरू बताउँछन् ।

त्यहीमध्येको वीरेन्द्रनगर–१० का मानबहादुर चौधरी पनि माटोमा मिसिएको धानलाई बटुल्दै थिए । मानो रोपेर फलाएको मुरी धान नष्ट हुँदा के खाने कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।

‘मानो रोपेर मुरी फलाउने सोचले वर्षभरि मिहेनेत गरेँ’, उनले भने, ‘तर, अहिले आएर खाने बेला मुखैमा ताला लाग्यो, अब कसरी परिवार पालौँ ?’

त्यस्तै पीडामा छट्पटाएका छन्, सोही ठाउँकै पे्रम पौडेल पनि । उनको पीडा पनि उस्तै छ । ‘पहिले १५ मुरी धान उत्पादन हुन्थ्यो । तर, अहिले १५ माना हुन पनि मुस्किल छ’, उनले भने, ‘वर्षभरि मेहेनत गरेँ । खाइनखाइ गरेर आठ कट्ठा जमिनमा धान रोपाईं गरियो । अहिले सबै वर्षातले नष्ट ग¥यो । वर्षभरिको मेहनत गरियो सबै खेर गयो ।’

वर्षभरि गर्नसम्म दुःख गर्दै मानो रोपेर मुरी फलाएको धानलाई बटुल्ने किसानका इच्छा यो वर्ष अधुरै रहने भएको छ । अघिल्लो आइतबारदेखि लगातार तीन दिनसम्म परेको अविरल वर्षाले काटेर सुकाएको धान उठाउन नपाउँदै भिजेर खेतमै उम्रिएको छ ।

लगातार तीन दिन परेको अविरल वर्षातले कर्णालीका दशवटै जिल्लामा असर गरेको छ । पानीले धान, कोदो, भटमास, केराउ लगायत अन्न भित्र्याउन नपाउँदै खेमै नष्ट भएको छ ।

कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार ४८ हजार हेक्टर क्षेत्रफलमध्ये ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ ।

सुुर्खेतमा दुुई हजार ५०० हेक्टर, दैलेखमाा एक हजार ५०० हेक्टर, कालीकोटमा एक हजार ११५ हेक्टर, मुुगुुमा एक हजार ३७५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ष्ट भएको छ ।

जुम्लामा ७०८ हेक्टर क्षेत्रफल, सल्यान दुुई हजार ७५८ हेक्टर, रुकुमपश्चिममा ६१० हेक्टर, जाजरकोट ७५३ हेक्टर र डोल्पामा १५० हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको कृषि विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक तथा वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले जानकारी दिए ।

उत्पादन घट्ने

पाकेको बालीमा भएको नोक्सानीले यो वर्ष धान उत्पादन घट्ने भएको छ । कर्णालीमा ३० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको यकिन विवरण आइनसकेपनि विगतका वर्षहरूको तुलनामा उत्पादनमा निकै कमि आउने कृषि विकास निर्देशनालयको आंकलन छ ।

विज्ञहरूका अनुसार काटेको धान भिज्दा दाग लाग्ने, कुट्दा चामल टुक्रिने र लामो समय भण्डारण गर्न नसकिने समस्या हुन्छ । खेतमा रहेको धानलाई अन्त खाली ठाउँ या ओत लाग्ने जग्गा भए निकालेर राख्न र जग्गा नभए खेतकै छेउमा ठूलो खाडल बनाएर पानी तर्काउन सकिने निर्देशनालयका बागवानी विकास अधिकृत तेजबहादुुर खनाल बताउँछन ।

ओस वा ढुसीले धानको गुणस्तरलाई असर गर्ने उनले बताए । कर्णालीका अधिकांश जिल्लाका किसानले कात्तिकमा पानी नपर्ने पुरानो अनुभवका कारण यतिबेला खेतमा धान काटेर सुकाएका थिए ।

यसैबेला परेको वर्षाले धान खेतमै डुबेको हो । निर्देशनालयका अनुसार कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, सल्यान र कालीकोटका विभिन्न स्थानमा धानबालीमा बढी क्षति पुगेकोे छ ।

पछिल्ला वर्षहरूमा उत्पादनमा केही सुधार भए पनि प्रदेशका ६ जिल्ला अझै खाद्यान्नमा परनिर्भर छन् । सुर्खेत, दैलेख, सल्यान र रुकुमपश्चिममा मात्र आवश्यक खाद्यान्न उत्पादन हुन्छ । जुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा न्यून खाद्यान्न उत्पादन हुने गरेको छ ।

यी जिल्लाले खाद्य संस्थानकै चामलमा भर पर्नुपर्ने बाध्यता छ । त्यहाँ बर्सेनि खाद्य संस्थानले सहुलियतको चामल आपूर्ति गर्दै आएको छ । कर्णालीमा वार्षिक झन्डै २३ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने सरकारी तथ्यांक छ ।

कृषकलाई क्षतिपूर्तिको व्यवस्था

कर्णाली प्रदेश सरकारले कृषकलाई अन्नबालीको क्षतिपूर्ति व्यवस्था गर्ने भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषदको बैठकले अप्रत्यासित वर्षातबाट अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरि कृषकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाढीपहिरो लगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई दुर्घटना बिमाबापतको रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.