Nepal Times
Nepal Times
3
Shares

चार सांसद माओवादी केन्द्रको कारबाहीमा

चार सांसद माओवादी केन्द्रको कारबाहीमा

२३ चैत्र, काठमाडौं ।
एमालेतिर लागेका प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका चार सांसदलाई माओवादी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएको छ ।

माओवादीले पार्टी परिवर्तन गरेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेशसभा सदस्यबाट हटाउन लागेको हो ।

माओवादीका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्री भएका टंक आङ्बोहाङलाई कारबाही गरेको पत्र सोमबार प्रदेशसभा सचिवालयमा दर्ता गराउने बताए ।

कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको र सोमबार बैठक सुरु हुनुअगावै पत्र दर्ता गरिने उनले जानकारी दिए ।

माओवादीले पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गराउन प्रदेशसभा सचिवालयमा सिफारिस गरेको छ ।

एमाले प्रवेश गरेका रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थीलाई हटाउन माओवादी केन्द्रको संसदीय दलले सिफारिस गरेको हो । अहिले दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाएका छन् ।

दुवै नेतालाई माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले एक साताअघि २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

उनीहरूले जवाफ नै नदिएपछि संसदीय दलबाट कारबाही गरिएको र त्यसको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सुदर्शन बरालले बताए ।

दुवैलाई संसदीय दल र पार्टीले कारबाही गरेको पत्र आइतबार माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

सोमबार बस्ने प्रदेशसभा बैठकबाट उनीहरूलाई पदमुक्त गर्ने निर्णय हुने उनले बताए । त्यसैगरी दैलेखबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य रेग्मीले दलत्याग गरेको भन्दै प्रदेशसभा सचिवालयमा सूचना दिएको छ ।

नेकपा विभाजनका बेला केपी ओली पक्षमा लागेका उनलाई एमालेले प्रदेश सचिव पदमा मनोनीत गरेको छ । प्रदेशसभा सदस्य पद रिक्त गराउन माओवादीले दल त्यागसम्बन्धी सूचना दिएको जनाएको छ ।

सभामुख राजबहादुर शाहीले सचिवालयमा पत्र दर्ता भएको र दलसम्बन्धी ऐनअनुसार कानुनी रूपमा अघि बढाइने बताए ।

माओवादी संसदीय दलको शनिबार बसेको बैठकले रेग्मीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै सांसद वा प्रदेशसभा सदस्यले दल त्याग गरेर अर्को दलको सदस्यता लिएमा पद रिक्त हुने व्यवस्था छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.