Nepal Times
Nepal Times
3
Shares

चौरजहारी घटना : निर्मम आक्रमणपछि सामूहिक हत्या गरेकाे निष्कर्ष

चौरजहारी घटना : निर्मम आक्रमणपछि सामूहिक हत्या गरेकाे निष्कर्ष

काठमाडौँ :  रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय छानबिन समितिले मङ्गलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन मङ्गलबार बुझाउनुभएको हो । समितिले एक महिनाको अवधिमा स्थलगत अध्ययनपछि प्रतिवेदन बुझाएको हो ।

समितिले घटना अन्तरजातीय सम्बन्धका कारण उत्पन्न भएको र दोहोरो झडप नभई एकपक्षीय रूपमा घटना गराइएको निष्कर्ष निकालेको छ । “हामीले प्रतिवेदन बुझाएका छौँ । मुख्यतः घटना दोहोरो झडप हैन भन्ने हाम्रो निष्कर्ष छ । निर्मम रूपमा आक्रमणपछि हत्या भएको छ । अन्तरजातीय सम्बन्धको कारणबाट घटना विकसित भएको समितिको निष्कर्ष छ’’, संयोजक पौडेलले भन्नुभयो ।

ठूलो समूह मिलेर आक्रमण गरी नवराजसहित छ जनाको हत्या भएको निष्कर्ष समितिको छ । घटनामा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सुझाव दिँदै समितिले संवैधानिक र कानुनी प्रावधान कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । समानता र स्वतन्त्रताको हक कार्यान्वयन गर्न तथा संवैधानिक आयोग गठनको विषयलाई पनि यथाशीघ्र प्राथमिकतामा राख्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिले पीडित परिवारलाई राज्यका तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउन पनि सुझाव दिएको छ । आश्रित परिवारका बालबच्चालाई शिक्षा, स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टी गर्न सुझाव दिँदै समितिले आश्रित परिवारलाई कम्तीमा १० लाख रुपियाँ क्षतिपूर्ति दिन र मृतकका नाममा स्मृति पार्क बनाउन पनि सुझाव दिएको छ ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.