Nepal Times
Nepal Times
3
Shares

जनयुद्धकालीन मुद्धा नै किन उठाउँछन् ओली ? (भिडियो)

जनयुद्धकालीन मुद्धा नै किन उठाउँछन् ओली ? (भिडियो)

१० माघ, काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा कै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जनयुद्धकालीन घटना सम्बन्धित विषय निकाली कटाक्ष गर्ने गरेका छन् । प्रहरीको फरारको सूचिमा रहेका पूर्व माओवादी लडाकु कालिबहादुर खामको नाम एक कार्यक्रममा प्रधानमन्त्री ओलीले लिए । पूर्व माओवादी लडाकूहरुप्रति सहानुभूति जनाउँदै प्रधानमन्त्री ओलीले माओवादी छापामारका तत्कालिन सर्वोच्च कमाण्डर रहेका प्रचण्डलाई भने आफ्ना नातागोतालाई मात्र साथ दिएको आरोप लगाउँदै आएका छन् ।

त्यसको प्रतिवाद गर्दै प्रचण्डले एक अन्र्तवार्तामा आफु ओली जस्तो निसन्तान नरहेको कठोर प्रतिक्रिया दिएका थिए । यहाँसम्मको आरोप प्रत्यारोपर कटाक्षले दुई अध्यक्षबीचको सम्बन्ध कति चिसिएको भन्ने प्रष्ट रुपमा बुझन सकिन्छ । पूर्व माओवादी लडाकुहरुको बेवास्ता गर्दै आफ्नो छोरी रेणु दाहाललाई मतपत्र च्यातेर भएपनि भरतपुर महानगरको मेयरमा जिताएको ओलीको आरोप छ । नेकपा विभाजित भएपछिका हरेक जसो कार्यक्रममा सम्बोधन गर्दै ओलीले माओवादी संसदीय राजनीतिमा आएको बेला आलोचना गरेकै जस्तो माओवादी नेताहरुको चर्को विरोध गर्ने गरेका छन् । बहिर्गमित माओवादी लडाकुहरुप्रति सहानुभूति जनाउँदै ओलीले प्रचण्डको विरोध गरिरहेका छन् । तर पार्टी एकतापछि पनि ओली जनयुद्धका सहिदहरुको सम्मान गर्ने कार्यक्रममा कहिल्यै सहभागी नभएको दाबी गर्दै प्रचण्डले भने जनयुद्धका लडाकुहरुप्रति सहानुभूति जनाउनु लाजमर्दो विषय भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डले नातागोताका लागि मात्र काम गरेको आक्षेप लगाइरहँदा भरतपुर महानगरकी मेयर रेणु दाहालले आपत्ती जनाएकी छिन् । आफ्ना चाहानाहरु सबै त्यागेर जनताको हितमा लडेको भन्दै उनले लेखेकी छिन्, ‘व्यक्तिगत स्वार्थमा कहिल्यै लागिएन, सेवामा समर्पित हुनु कमजोरी हो ? नकी अरुको जस्तो बाले राजनीति गर्ने र छोराछोरीले फाइदा लिएर लुट्नु पर्ने हो ?’ उनले बरु प्रधानमन्त्रीले आफ्ना गुटका आसेपासेहरुलाई भन्दा अरुका लागि केही नगरेको आरोप लगाएकी छन् । व्यक्तिगत गालीगलौजमा उत्रिसकेका एकै पार्टीका दुई अध्यक्षहरुले एक अर्काको विगत कोट्याउँदै एकअर्कालाई प्रहार गरिरहेका छन् । जनयुद्धकालीन कतिपय मुद्धाहरु सम्बोधन हुन नसकिरहेको बेला उपयुक्त व्यवस्थाबिना आफु बर्हिगमनमा परेकोमा असन्तुष्ट बनेका पूर्व माओवादी लडाकुहरुप्रति ओली नरम देखिएका छन् अनि प्रचण्डप्रति भने कडा रुपमा प्रस्तुत भईरहेका छन । जसले जसका लागि गर्नुपर्ने थियो त्यसो नगरी उनीहरु एकले अर्कालाई पछारेर आफू राम्रो देखिन खोजिरहेका छन । तर युद्धको शारिरीक र मानसिक घाउ र पीडा बोकेर थिलथिलो शरीर घिस्साई रहेकाहरुको पीडामा उनीहरु तैचुप मैचुप छन् । यसैले नै हो अझै पनि द्धन्दपीडितहरु न्यायका लागि गुहार लगाइरहेका छन । जनयुद्धकालीन मुद्धाहरु ब्युताएर नेताहरु पक्राउ पर्ने हुन् कि भन्ने चर्चा भइरहेको बेला तिनै मुद्धाहरुका विषयमा सार्वजनिक कार्यक्रममा आरोप–प्रत्यारोप हुँदा भने कुनै दुर्घटना पो हुने हो कि भन्ने शंका पनि सिर्जना भएको छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.