Nepal Times
Nepal Times
3
Shares

टोकियो ओलम्पिकको भव्य उद्घाटन, गौरिका सिंह र एलेक्स शाहले फहराए नेपालको झण्डा

टोकियो ओलम्पिकको भव्य उद्घाटन, गौरिका सिंह र एलेक्स शाहले फहराए नेपालको झण्डा

९ साउन, काठमाडौं ।
जापानको राजधानी टोकियोमा विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिकको शुक्रबार भव्य उद्घाटन गरिएको छ । टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

उद्घाटनमा जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोहलाई भव्य बनाइएको छ । जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा जापानी सांस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन गरेका छन् । ६८ हजार दर्शक क्षमताको रंगशालामा कोरोना भाइरसको महामारीको कारण उद्घाटन समारोहमा करिब एक हजार भीआईपीको मात्रै उपस्थिति रहेको थियो । जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

शुक्रबार भएको उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोकेका थिए । ३२ औं संस्करणको ओलम्पिक प्रतियोगिताका केही खेलहरु दुई दिनअघि नै सुरु भएका थिए ।सन् २०२० मा नै सम्पन्न हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको थियो ।

यस वर्षको ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएका छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले नेपालको प्रतिनिधित्व गरेका हुन् । नेपालको टोली भने २६ जनाको छ ।
टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.