Nepal Times
Nepal Times
3
Shares

दिल्लीको अपोलो अस्पतालमा झलनाथ खनालको उपचार सुरु

दिल्लीको अपोलो अस्पतालमा झलनाथ खनालको उपचार सुरु

३ असार, काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि बुधबार दिउँसो दिल्ली लगिएको थियो।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले अस्पतालमै पुगेर खनाल र उनको उपचारको नेतृत्व गरिरहेका चिकित्सकसँग स्वास्थ्यस्थितिबारे छलफल गरेका छन् । भेटपछि राजदूत आचार्यले खनालको उपचार बुधबारबाटै सुरु भएको जानकारी दिएका छन् ।

आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार प्रक्रिया दिल्लीको अपोलो अस्पतालमा आजैबाट शुरू भएकोछ। उहाँसंग र उहाँको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो। उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ।’

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नर्भिक अस्पताल भर्ना भएका खनालको स्वास्थ्यमा थप जटिलता थपिन सक्ने देखिएपछि चिकित्सकको परामर्शमा दिल्ली लगिएको हो ।

खनालमा मिर्गौलाले राम्रोसँग काम नगर्दा हुने स्वास्थ्य जटिलता देखिएको छ । खनालमा मिर्गौलाको समस्याबाट हुने र कोभिडपछिका लक्षणहरू देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताए । डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत संक्रमण देखिएको छ । खनाललाई के भएको हो भन्ने चिकित्सकले किटान गर्न सकेका छैनन् ।

नर्भिक अस्पताल स्रोतका अनुसार खनालको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । अक्सिजनको नियमित सपोर्ट दिइएको छ । त्यस्तै, मंगलबार उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्ट मात्रै लिएकाले मुटुले पनि राम्रोसँग काम नगरेको हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।

चिकित्सकहरूले मिर्गौलामा खराबी देखिएकाले तीन महिनापछि ट्रान्सप्लान्ट वा डायलाइसिसको विकल्पमा जानुपर्ने हुन सक्ने बताएको पारिवारिक स्रोतको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.