Nepal Times
Nepal Times
3
Shares

नक्सा सच्याउनेमात्र होइन कालापानीबाट विदेशी फौज हटाउछौं : प्रधानमन्त्री

नक्सा सच्याउनेमात्र होइन कालापानीबाट विदेशी फौज हटाउछौं : प्रधानमन्त्री

१ मंसिर, कामाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला ओलीले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताए । उनले केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै असन्तुष्टि समेत जनाए ।

उनले भने ‘यस नाममा केही उछृङ्खल गतिविधि देखिए । कतिपयले आफूलाई हिरो देखाउन, अतिरिक्त देशभक्ति देखाउने हिसाबले त्यस्ता गतिविधि गरेका छन् । यसले समाधान हुँदैन । अहिलेको सरकार नेपाली जनताको सरकार हो । देशभक्त सरकार हो । यो सरकारले एक इन्च भूमि पनि मिचिन दिदैन ।’

हामीलाई अरुको जमिन चाहिएन भन्दै प्रधानमन्त्रीले हाम्रो जमिनबाट छिमेकीले सेना फिर्ता लैजाओस भन्ने आग्रह गरे । नेपालले शान्ति सेनामार्फत विश्वमै शान्तिको पक्षमा नाम कमाएको भन्दै उनले छिमेकीसँग कुनै तनावबिना संवादको माध्यमबाट सीमा समस्या समाधान गर्ने पनि बताए ।

‘अहिलेको सरकार संवाद गर्न नसक्ने, कुरा गर्न नसक्ने त्यस्तो सरकार होइन । इतिहासले देखाइसकेको छ । यो सरकार राष्ट्रिय हितका पक्षमा अड्न सक्छ र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ ।’

प्रधानमन्त्री ओलीले भारतले पछिल्लो समय जारी गरेको नक्सा सच्याएरमात्र नहुने समेत प्रष्ट पारे । कतिपय मान्छेले नक्सा सच्याउ भनेर आन्दोलन गरिरहेको भन्दै उनले भने ‘नक्सा त प्रेसमा छाप्दा सच्याउन भइहाल्छ । हामी भूमि फिर्ता लिन लागेका छौं, विदेशी फौज हटाउन लागेका छौं । हामी त्यसमा सक्षम छौं । नक्सा सच्याउने कुरै होइन ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.