Nepal Times
Nepal Times
3
Shares

नेपालको ५५ जिल्लाका ४४९ वन क्षेत्रमा सक्रिय डढेलो

नेपालको ५५ जिल्लाका ४४९ वन क्षेत्रमा सक्रिय डढेलो

२२ चैत, काठमाडौँ । नेपालका विभिन्न ठाउँको वन क्षेत्रमा फेरि डढेलो बढेको छ । गएको बुधवार पानी परेपछि धेरै ठाउँको डढेलो निभेको भए पनि फेरि डढेलोको सङ्ख्या बढेको हो ।

वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार अहिले ५५ जिल्लाका चार सय ४९ वन क्षेत्रमा डढेलो लागिरहेको छ । अहिले सबैभन्दा धेरै सुर्खेतका ३८ ठाउँमा डढेलो लागिरहेको छ ।

यस्तै दाङका ३१, प्युठानका २६ तथा चितवन र सल्यानका २४/२४ तथा बर्दिया र डोटीका २१/२१ ठाउँमा सक्रिय डढेलो रहेको छ ।

कैलाली, कञ्चनपुर, उदयपुरका, बाँके, कपिलवस्तु, मकवानपुरलगायतका जिल्लामा पनि अहिले सक्रिय डढेलो रहेको छ ।

वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्कअनुसार गएको पुसपछि मात्रै देशका सबै जिल्लामा गरी ३८ सय चार वटा ठाउँको जङ्गलमा डढेलो लागिसकेको छ ।

जङ्गलमा फैलिएको डढेलोका कारण गएको हप्ता काठमाण्डौ उपत्यकासहित देशभरको वायु प्रदूषण बढेर विद्यालय नै बन्द गर्नुपरेको थियो ।

अहिले वायु प्रदूषणको मात्रा केही घटे पनि जङ्गलमा डढेलो फैलने क्रम बढेकाले फेरि वायु प्रदूषणको जोखिम बढेको वातावारणविद्ले बताएका छन् ।

केही दिन थोरै ठाउँमा भए पनि पानी परेकोले वायु प्रदूषण कम हुँदै गएको वातावरण विभागले जनाएको छ । वायु प्रदूषण कम भए पनि अवस्था भने अस्वस्थ नै रहेकाले आवश्यक सावधानी अपनाउन विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले आग्रह गरेका छन् ।

यस्तै काठमाडौँको वायु प्रदूषण कम हुँदै गए पनि विश्वभरको तुलनामा शीर्ष स्थानबाट भने तल झर्न सकेको छैन । अहिले पनि संसारकै सबैभन्दा धेरै प्रदूषणको सूचीमा नेपाल कायमै छ ।

विश्वभरको वायु प्रदूषण कम हुँदै जाँदा नेपालको पनि सुधार भएको तर शीर्ष स्थानमा कायमै देखिएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.