Nepal Times
Nepal Times
3
Shares

परीक्षणको अन्तिम चरणमा रहेका मध्ये नेपाललाई ३ खोप उपयुक्त

परीक्षणको अन्तिम चरणमा रहेका मध्ये नेपाललाई ३ खोप उपयुक्त

काठमाडौँ : परीक्षणको अन्तिम चरणमा रहेका कोभिड–१९ विरुद्धका चार खोपको चर्चा चलिरहेका बेला नेपाली विज्ञहरूले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोपमा विशेष चासो देखाइरहेका छन् ।

फाइजर-बायोएनटेकबाहेक अक्सफोर्ड–अस्ट्राजेनेका, मोडर्ना र ग्यामेलिया इन्स्टिच्युटको खोप यहाँ उपयुक्त हुन सक्ने उनीहरूको भनाइ छ ।

अक्सफोर्ड–अस्ट्राजेनेकाले तयार पारेको एजेडडी १२२२ र रुसको ग्यामेलिया इन्स्टिच्युटले विकास गरेको स्पुतनिक–५ कम मूल्य पर्ने देखिएका छन् । स्पुतनिक खोपको भाइल माइनस १८ डिग्री सेल्सियसभन्दा तल्लो तापक्रममा भण्डारण गर्नुपरे पनि यसको सुक्खा संस्करण २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । हाल मुलुकमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवामा १५ महिनासम्मका बालबालिकालाई १२ वटा एन्टिजेन (रोगविरुद्ध खोप) दिइराखिएको छ । यी खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्ने गरिएको छ । राजधानीलगायतका केही ठाउँमा माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्ने क्षमतासमेत छ ।

‘सरकारले कोभिड खोपको बजारमा उपलब्धता, लागत, कोल्ड चेन, परिवहन आदिका लागि उपलब्ध पूर्वाधार एवं गुणस्तर, सुरक्षा र प्रभावकारितालाई मुख्य प्राथमिकता दिएर बुझिरहेको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘हामीलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने खोप परिवहन र लगाउनसमेत सहज हुन्छ ।’ उनले अक्सफोर्ड–अस्ट्राजेनेका खोपले बेलायतमा आकस्मिक उपयोगको अनुमति पाएपछि प्रक्रिया पुर्‍याएर भारतमा समेत प्रयोग हुने सम्भावना रहेको बताए । डा. गौतमले खोप लगाउने रणनीतिक योजना पनि तयार गरिरहेको जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोभिड खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने सुरक्षित र प्रभावकारी खोप नै ल्याउन उपयुक्त देखिएको बताए । ‘मुलुकभरि लगाउन्जेलसम्म गुणस्तर सुनिश्चितताका लागि खोपको कोल्ड चेन कायम राख्नु हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण हुनुका साथै चुनौतीपूर्णसमेत छ,’ उनले भने । विज्ञहरूले नेपालका लागि सहज रूपमा उपलब्ध हुने, सजिलै भण्डारण तथा ओसारपसार गरेर लगाउन सकिने अत्यन्त प्रभावकारी खोप उपयुक्त हुने बताउँदै आएका छन् । उनीहरूका अनुसार नेपालको जटिल भौगोलिक अवस्थाका कारण सामान्य ‘आइसबक्स’ मा दुई–तीन दिनसम्म समेत खोप सुरक्षित रूपमा राख्न सकिने खालको हुनुपर्छ ।

डा. ठाकुरले मुलुकमा हाल उपयोग भइरहेकोभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्ने अवस्थाका लागि संरचना फेर्न सरकारले अतिरिक्त बजेट व्यवस्था गर्नुपर्ने पनि बताए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.