Nepal Times
Nepal Times
3
Shares

बाँके राप्तीसोनारीमा बाघलाई नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रसित

बाँके राप्तीसोनारीमा बाघलाई नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रसित

२६ पौष, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा स्थानीय बासिन्दा त्रसित भएका छन् ।

बाघले दुई दिनको अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमणको प्रयास गरेको जनाइएको छ ।

राप्तीसोनारी –६ फत्तेपुरका लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीमा रहेको बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको जानकारी दिए ।

बाघको शृङ्खलाबद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय बासिन्दा अहिले निकै त्रसित भएका छन् ।

बाघको आक्रमणबाट शनिवार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीवार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको ज्यान गएको थियो ।

बाघको आक्रमणबाट बाँकेमा तीन महिनायता चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्तीसोनारी–१ गाभर र नरैनापुरमा एक/एक जनाको ज्यान गएको थियो ।

बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले तीन दिनयतादेखि राप्तीपारी क्षेत्रमा दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ ।

बाघले आतङ्क मच्चाइरहेको ठाउँ राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।

राप्तीसोनारी–५ का वडाध्यक्ष झगरु थारुले बाघलाई नियन्त्रणमा आउन नसक्दा नागरिकमा त्रास फैलिएको बताए । धेरैजसो नागरिक कृषि पेसामा आबद्ध रहेकाले वन, जङ्गलभित्र प्रवेश गर्नु उनीहरुको बाध्यता रहेको वडाध्यक्ष थारुको भनाइ छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बाघलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर जनतालाई त्रासमुक्त गर्न आफूले सम्बन्धित निकायसँग बारम्बार आग्रह गरिरहेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.