Nepal Times
Nepal Times
3
Shares

बेरुतको शक्तिशाली विष्फोटपछि ढल्यो लेवनानको सरकार

बेरुतको शक्तिशाली विष्फोटपछि ढल्यो लेवनानको सरकार

२७ साउन, एजेन्सी ।
बेरुतमा भएको शक्तिशाली विष्फोटपछि लेवनानको सरकार ढलेको छ । सोमबार प्रधानमन्त्री लगायत सबै मन्त्रीहरुले राजीनामा दिएका छन् ।
गत मंगलबार भएको शक्तिशाली विष्फोटपछि सरकारविरुद्ध प्रदर्शनहरु समेत भएका थिए । परिस्थिति थप असहज हुँदै गएपछि प्रधानमन्त्री हसन दीव लगायत पुरै क्याविनेट सदस्यले सोमबार राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री हसनले सोमबार राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिएको घोषणा गरेका छन् । प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्– ‘हामी यो त्रासदीपूर्ण अवस्थामा जनताका लागि आफ्नो उत्तरदायित्व, जवाफदेही बन्दै जनताको वास्तविक परिवर्तनको चाहनाको कदर गर्न चाहान्छौं ।’ राजीनामा पछि अब संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ ।

पछिल्लो हप्ता मंगलबार राजधानी बेरुतमा शक्तिशाली विष्फोट हुँदा २२० जनाको मृत्यु भएको थियो भने ११० जनाभन्दा बढी अझै बेपत्ता रहेका छन् । उक्त विष्फोटमा ६ हजारभन्दा बढी घाइते भएका थिए ।

यो विष्फोटपछि लेबनानमा आर्थिक संकट गहिरिएको छ भने सरकारसँग शहरको मध्यभागमा विष्फोटक पदार्थ राख्नुको कारण माग गर्दै हजारौं मानिसहरु बेरुतको सडकमा प्रदर्शन गरिरहेका छन् ।

प्रधानमन्त्री हसनले विष्फोट हुनुको मुख्य कारण विगत ६ वर्षदेखि बेरुत बन्दगाहमा भण्डारण गरिएको अमोनियम नाइट्रेट रहेको प्रस्ट पारेका थिए । बन्दगाहमा रहेको सो गोदाममा २७५० टन अमोनिय नाइट्रेट भण्डारण गरिएको थियो, जसमा आगो लाग्दा शक्तिशाली विष्फोट भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । विष्फोटबाट बेरुतमा कम्तिमा ३ अर्ब डलरको नोक्सान भएको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.