Nepal Times
Nepal Times
3
Shares

बेलायती राजपरिवार भित्रको रंगभेदले आफू आत्महत्या गर्ने अवस्थामा पुगेको मेघनको खुलासा

बेलायती राजपरिवार भित्रको रंगभेदले आफू आत्महत्या गर्ने अवस्थामा पुगेको मेघनको खुलासा

२४ फागुन, एजेन्सी । बेलायतका पूर्वराजकुमार ह्यारीकी पत्नी मेघन मर्केलले ब्रिटिस राजपरिवारभित्रको रंगभेदले आफूलाई आत्महत्या गर्ने अवस्थासम्म पु¥याएको खुलासा गरेकी छन्।

अमेरिकी टेलिभिजन च्यानल सिबिएसमा सोमबार प्रसारण भएको ह्यारी र मेघनको अन्तर्वार्ताका क्रममा मेघनले आफ्नो छोराको छाला कति कालो हुन सक्छ भनेर राजपरिवारले उनलाई राजकुमारको उपाधि दिन अस्वीकार गरेको बताइन् ।

३९ वर्षीय पूर्वअमेरिकी अभिनेत्री मेघनले सन् २०१८ मा ह्यारीसँग विवाह गरेकी थिइन्। मेघनकी आमा अश्वेत हुन् भने बुवा श्वेत हुन्।

विवाहपछि बेलायती राजपरिवारमा आफूले रंगभेद महशुस गरेको र त्यसले समस्याको रूप लिन थालेपछि सहयोग माग्दा पनि कसैबाट सहयोग नपाएको मेघनले बताइन्।

’उनीहरू मेरो छोरा आर्चीलाई राजकुमार बनाउन चाहन्थेनन्,’ मेघनले अन्तर्वार्ताका क्रममा भनेकी छन्,‘उनी जन्मिँदा नै उनको छाला कति कालो हुन सक्छ भन्नेबारे छलफल भएको थियो।’

राजपरिवारमा यस्तो छलफल गर्नेहरू को थिए भन्नेबारे भने ह्यारी र मेघनले खुलाएका छैनन्।

’म बाँच्न चाहँदैनथें। मलाई जतिबेला पनि त्यस्तै सोच आइरहन्थ्यो। अहिले पनि त्यतिबेला ह्यारीले मलाई कसरी सान्तवना दिन्थे भन्ने मलाई याद छ,’ मेघनले भनेकी छन्।

ह्यारीले विवाहपछि आफ्नो परिवारलाई राजपरिवारले पैसा दिन छोडेको बताएका छन्। आफ्ना बुवा राजकुमार चार्ल्स (जो बेलायती राजगद्धीका उत्तराधिकारी पनि हुन्)ले कुरा गर्नै अस्वीकार गरेको पनि ह्यारीले बताएका छन्।

मेघनले राजकुमार विलियमकी पत्नी केइटले आफूलाई विवाहपूर्व नै रूवाएको पनि बताएकी छन्। उनी रूनुपर्ने घटना के थियो भन्नेबारे भने मेघनले खुलाइनन्। राजकुमार चार्ल्ससम्मको आलोचना गरे पनि ह्यारी र मेघनले महारानी एलिजावेथका बारेमा भने केही नराम्रो भनेका छैनन्।

ह्यारी र मेघनले सन् २०२० मा राजपदवी त्याग गर्ने निर्णय गरेका थिए। राजदरबार छोडेर उनीहरू क्यानडा हुँदै अहिले संयुक्त राज्य अमेरिका बस्दै आएका छन्।

बकिङ्हम प्यालेसले भने अहिलेसम्म ह्यारी–मेघनको अन्तर्वार्ताबारे कुनै प्रतिक्रिया दिएको छैन।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.