Nepal Times
Nepal Times
3
Shares

भारतीय विदेशसचिव श्रृङ्गला आज नेपाल आउँदै

भारतीय विदेशसचिव श्रृङ्गला आज नेपाल आउँदै

११ मंसिर, काठमाडौँ ।

भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत आज नेपाल आउँदैछन् । उनी बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रनेछन् ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकाे छ । साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च नेतासँग भेट गर्ने जनाइएको छ । भ्रमणकै क्रममा उनले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् ।

विदेशसचिव श्रृङ्गलाले भ्रमणका क्रममा बिहीबारै परराष्ट्र सचिव भरतराज पौडेलसँग भेट गर्नेछन् । यस द्विपक्षीय भेटमा नेपाल–भारतबीच सहकार्यमा रहेका विभिन्न परियोजनाका बारेमा छलफल हुने छ । भारतले भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग राशिका साथ सघाइरहेको छ ।

त्यस्तै नेपालको तराई क्षेत्रका सडकमार्ग स्तरोन्नति र पूर्वाधार निर्माण अन्तर्गतको हुलाकी सडक निर्माण, सीमा नाकामा चारवटा चेकपोस्ट निर्माण, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, रेल्वे सेवा, खाद्य सुरक्षा, व्यापार वाणिज्य, अरुण तेस्रोसहितका विद्युत् उत्पादनलगायत विविध परियोजनामा दुई मुलुकबीच सहकार्य जारी छ ।

विशेषगरी उनको यो भ्रमण नेपाल–भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने विषयमा परामर्श हुनेछ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने आयोगको छैटौँ बैठक अर्को महिना भारतको नयाँदिल्लीमा गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई साँध सिमाना जोडिएका नेपाल–भारत वा नेपाल–चीन दुवैतर्फ सद्भावपूर्ण सम्बन्ध रहनु जरुरी हुने बताउँछन् । उनले भने “दुई पुराना मित्र मित्रताको एउटै बाटोमा नहिँडेर सुख छैन । मनमुटाव मेटेर संवादमार्फत समस्याको समाधान खोज्नुको विकल्प छैन, निकट रहेका दुवै छिमेकीसँग र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई राम्रो बनाउने नेपालको उद्देश्य छ, जसका लागि विगतमा रहेका समस्यालाई समाधान गर्दै अगाडि जाने नेपालको नीति हो ।”

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवाद समाधानको कडी खोज्न भारतीय विदेशसचिव श्रृङ्गलाको महत्वपूर्ण भूमिका रहने छ । विदेश सचिव श्रृङ्गला यही मङ्सिर १२ गते नै स्वदेश फर्कने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.