Nepal Times
Nepal Times
3
Shares

मलाई गुमराहमा राखियो, दोष आयोजकको हो, क्षतिपूर्ति दिनुपर्छः खेसरीलाल

मलाई गुमराहमा राखियो, दोष आयोजकको हो, क्षतिपूर्ति दिनुपर्छः खेसरीलाल

५ माघ, मोरङ । बर्जु महोत्सव आयोजक समितिले आफूलाई गुमराहमा राखेको भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवले बताएका छन् ।

यादव मंगलबार बर्जुमा आयोजित कार्यक्रममा आउने कार्यसूची थियो । कार्यक्रममा आउँदै गर्दा उनलाई प्रशासनले विराटनगरमा नै रोकेको थियो । आयोजकले टिकट बिक्री गरे पनि कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले स्टेज तोडफोड गर्दै ४ वटा स्कोरपियो गाडीमा आगजनी गरे । घटनापछि सार्वजनिक प्रतिक्रिया दिंदै उनले सम्पूर्ण दोष आयोजकको भएको बताउँदै आफूलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै यादवले तोडफोड र आगजनीबाट आफ्नो डेढ करोडको क्षति भएको दाबी गरेका छन् । गाडीहरू, बाध्ययन्त्रमा क्षति पुगेको उनको भनाइ छ । यो घटनामा स्थानीय प्रशासन र सर्वसाधारण कसैको पनि दोष नरहेको उनले बताए ।

उनले बर्जुमा टिकट सो छ भन्ने विषयमा आफूलाई जानकारी नै नगराएको बताए । ‘महोत्सव आयोजक समितिले कुनै जानकारी दिएन’ उनले भने, ‘प्रशासनले अगाडि नै रोक्न निर्देशन दिएको रहेछ, तर मलाई गुमराहमा राखे, यसमा मेरो, प्रशासन र सर्वसाधारणको कुनै कमजोरी छैन ।’

पर्यटकीयस्थल बर्जु तालमा पुस २३ गतेदेखि बर्जु महोत्सव जारी थियो । कोरोना संक्रमण बढेपछि पुस २७ गते स्थानीय प्रशासनले महोत्सव रोक्न निर्देशन दिएको थियो । तर अटेर गरेपछि माघ २ गते पुनः रोक्नका लागि लिखित निर्देशन दिइयो ।

त्यसपछि पनि आयोजक समितिले मंगलबार खेसरीलाललाई बोलाएको थियो । स्थानीय प्रशासनले कार्यक्रमको अनुमति नभएको र सुरक्षा दिन नसक्ने भन्दै यादवलाई बीच बाटोमै रोकेर होटलमा राखेको थियो ।

दिउँसो १२ बजेसम्म उनी महोत्सवस्थलमा नपुगेपछि आक्रोशित भीडले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो गाडीमा आगजनी गर्नुका साथै स्टेज, साउन्ड सिस्टम र लाइटहरु तोडफोड गरेको प्रहरीले जनाएको छ । कलाकार यादवले तोडफोडबाट डेढ करोडको क्षति पुगेको जानकारी पाएको भन्दै आयोजकले क्षतिपूर्ति दिनुपर्ने बताए ।

कोरोनाका कारण प्रशासनले कार्यक्रम गर्न रोक लगाएको विषयमा आयोजकले आफूलाई केही नभनेको उनले बताए । ‘आयोजकले प्रशासनको निर्देशनका बारेमा जानकारी दिएको भए म कार्यक्रमका लागि आउने थिइनँ’ यादवले भने, ‘तर ढाँटेर बोलाएकाले मलाई प्रशासनले कार्यक्रममा जान दिएन ।’

आयोजकले उनी आउने भन्दै तीन सय र पाँच सय दरका टिकट अग्रिम बिक्री गरेको थियो । कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले आगजनी र तोडफोड गरेको गाउँपालिका–६ का वडाअध्यक्ष विनोदकुमार चौधरीले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.