Nepal Times
Nepal Times
3
Shares

राष्ट्रपति भण्डारीसँग चिनियाँ रक्षामन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति भण्डारीसँग चिनियाँ रक्षामन्त्रीको शिष्टाचार भेट

१४ मंसिर, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्य परिषद् सदस्य तथा रक्षा मन्त्री वेइ फेङ्हेले आज साँझ शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वतन्त्रताको सम्मान र आन्तरिक मामिलामा चीनको अहस्तक्षेप नीतिको प्रशंसा गर्नुहुँदै नेपाल चीन सम्बन्धको विकासमा यो भ्रमण महत्त्वपूर्ण कोशे ढुङ्गाको रुपमा रहने विश्वास व्यक्त गरेकाे  राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग रक्षा मन्त्री वेइले शिष्टाचार भेट गरेका थिए । भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल चीनबिचको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकाे प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

आजै रक्षा मन्त्री वेइ र प्रधान सेनापति पूर्णचन्द्र थापा बिच आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो ।भेटवार्तामा कोभिड–महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरूलाई सुचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

रक्षा मन्त्री जनरल वेई र उहाँको प्रतिनिधिमण्डलले नेपाली सेनाको कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गर्दै उच्चस्तरीय भ्रमण लगायतका द्विपक्षीय सहयोगका कार्यहरू यथाशीघ्र सुचारु गर्ने बारेमा आश्वासन दिएको नेपाली सेनाले जनाएको छ ।

यस भ्रमणले दुई देशका सेनाबिच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

रक्षा मन्त्री वेइको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबिचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका थिए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.