Nepal Times
Nepal Times
3
Shares

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

१९ बैशाख, काठमाडौँ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा शुक्रबार बिहान साढे २ बजे निधन भएको उनको वृत्तचित्र ‘५६ वर्षपछि…’ बनाएका गायक तथा संगीतकार सुमन खड्काले पुष्टि गरे । उनको शुक्रबार बिहानै अन्त्येष्टि भइसकेको छ ।

रानुदेवीको बाल्यकाल बनारसमा बितेको थियो, त्यहीँ रहँदै उनमा शास्त्रीय संगीतप्रति लगाव बसेको थियो । तारिणीप्रसाद कोइरालाको प्रेरणामा उनी राणाशासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् । २००६ सालमा रेडियो नेपालमा उनका ६ गीत रेकर्ड भएका थिए । त्यसअगावै पनि उनी विराटनगरमा जागरण गीत गाउने गर्थिन् । उनका ‘जुनेली रात हजुर…’, ‘जागे नेपाली उठे नेपाली…’ लगायत गीत चर्चित छन् । तारिणीप्रसादकै शब्दरसंगीतमा कलकत्तामा पनि उनको गीत रेकर्ड भएको थियो ।

नेपाली राजनीतिकी आदर्श व्यक्तित्व नोना कोइरालाकी बहिनी हुन्, रानुदेवी । इतिहासमा स्नातकोत्तर रानुदेवीले २०२३ देखि २०५३ सालसम्म अध्यापन गरेकी थिइन् । २००६ सालमै उनको विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको थियो । त्यति बेला उनी ८ कक्षामा पढ्दै थिइन् । उनका एक छोरा र दुई छोरी छन् । छोरा र जेठी छोरी अमेरिकामा बस्छन् । उनी कान्छी छोरीसँग काठमाडौंमा बस्दै आएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.