Nepal Times
Nepal Times
3
Shares

वडा कार्यालय र स्वास्थ्य चौकीमा अज्ञात समूहद्वारा आगजनी, औषधिसहित सामान पनि चोरी

वडा कार्यालय र स्वास्थ्य चौकीमा अज्ञात समूहद्वारा आगजनी, औषधिसहित सामान पनि चोरी

२१ चैत, वीरगन्ज । लकडाउनका बेला वीरगन्ज महानगरपालिका २४ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । अज्ञात समूहले वडा कार्यालयमा आगजनी गर्नुका साथै सरसामान चोरेर पनि लगेको छ ।

अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्य चौकीको पनि ढोका तोडेर केही औषधि चोरेर लगेको छ । रामगढवामा रहेको वडा कार्यालय र स्वास्थ्य चौकीमा बिहीबार राती अज्ञात समूहले आगजनी गर्नुका साथै सरसामान पनि चोरेर लगेको वडा अध्यक्ष दशरथ राउत कुर्मीले जानकारी दिए ।

बिहीबार राती समूहले वडा कार्यालयको ढोकाको ताल्चा फुटाएर कार्यालयभित्र आगजनी गर्दा टेबुल १ थान , कुर्सी २ थान र कार्यालयका विभिन्न् अभिलेख रहेका कागजपत्रहरु जलेर खरानी भएका छन् ।

कार्यालयभित्र रहेका २ मध्ये एउटा दराजको ताल्चा तोडेर त्यहाँभित्र रहेका सबै कागपत्र र फाइल झिकेर आगजनी गरिएको वडा सचिव घनश्याम कुर्मीले बताए ।
वडा कार्यालयबाट कम्प्युटर डेस्कटप १ थान , सिपियु १ थान , प्रिन्टर १ थान , युपिएस १ थान , पंखा १ थान , हिटर १ थान , राउटर १ थान र पानी तान्ने मोटर १ थान चोरी भएको वडा सचिव घनश्यामले जानकारी दिए ।

आगजनी गर्नेहरुले स्वास्थ्य चौकीको कोठाको पनि ताल्चा फुटाएर केहि औषधि लगेको उनले बताए । लकडाउनले समस्यामा परेका विपन्न, गरिवलाई राहत वितरणका लागि सर्वदलीय बैठक बस्न शुक्रबार बिहान ७ बजे वडा कार्यालय पुग्दा कार्यालयको ताल्चा तोडेर आगजनी गरिएको देखिएको वडा सचिव कुर्मीले बताए ।

आगजनी र चोरीबाट करिब चार लाख बराबरको क्षति भएको उनले जानकारी दिए । चोरी गर्ने मनसायभन्दा पनि जनप्रतिनिधिसँग रिसबीका कारण वडा कार्यालयमा आगजनी गरिएको हुनसक्ने वडाध्यक्ष दशरथले बताए । पर्साकी प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर शाहीले घटनामा संलग्नको खोजी भइरहेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.