Nepal Times
Nepal Times
3
Shares

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

काठमाडौं: विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने बढी गरेको पाइएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण विकासे मन्त्रालयले पुँजीगत खर्च गर्न नसकेको जनाएका छन् । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार चालु वर्षको पहिलो चौमासिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ११ प्रतिशत पुँजीगत खर्च गरेको छ ।

सहरी विकास मन्त्रालयले भने पहिलो चौमासिक अवधिमा १६ प्रतिशत खर्च गरेको छ । भूकम्पपछि निजी आवास, सम्पदा, शैक्षिक तथा स्वास्थ्य संस्थाहरूका भवनको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माणले यस अवधिमा ११ प्रतिशत पुँजीगत खर्च गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको यस अवधिमा पुँजीगत खर्च झनै कम छ । मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा ८ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । खानेपानी मन्त्रालयको पनि पुँजीगत खर्चको अवस्था झनै कमजोर देखिएको छ । पहिलो चौमासिक अवधिमा मन्त्रालयले ५ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।

सरकारले विकास निर्माणमा खर्च गर्न नसकिरहेको आरोप लाग्दै आएकामा चालु वर्षको पहिलो चौमासिकमा पनि पुरानै समस्या देखिएको हो ।

विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित मन्त्रालय मात्रै नभएर अन्य मन्त्रालयको पनि पुँजीगत खर्च निराशजनक नै देखिएको छ । कतिपय मन्त्रालय पुँजीगत खर्चमा शून्य प्रतिशतमै सीमित देखिएका छन् । कतिपय मन्त्रालयको पुँजीगत खर्च भने विकास निर्माणसँग सम्बन्धित मन्त्रालयको भन्दा राम्रो प्रगति देखिएको छ ।

परराष्ट्रको शून्य, अर्थको एक प्रतिशत
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगत खर्च कम गर्ने मन्त्रालय परराष्ट्र बनेको छ । योजना आयोगको तथ्यांकअनुसार परराष्ट्र मन्त्रालयको पुँजीगत खर्च शून्य प्रतिशत रहेको छ । अर्थ मन्त्रालयको पनि पुँजीगत खर्च १ प्रतिशत मात्र रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने १० प्रतिशत पुँजीगत खर्च गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ प्रतिशत, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ६ प्रतिशत, गृहले १६ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ३ प्रतिशत, भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले भने २६ प्रतिशत पुँजीगत खर्च गरेको छ । कानुन मन्त्रालय चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालयमा परेको छ ।

यता युवा तथा खेलकुदले १ प्रतिशत, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २ प्रतिशत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १ प्रतिशत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ प्रतिशत खर्च गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १२ प्रतिशत, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ११ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.