Nepal Times
Nepal Times
3
Shares

सगरमाथा आरोहणका लागि ३ सय ९४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि ३ सय ९४ जनाले अनुमति लिए

१० बैशाख, काठमाडौँ । कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै बीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आरोहण क्षेत्र प्रभावित हुने आशंकाकाबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै तीन सय ९४ जना आरोहीले अनुमति लिएका हुन् ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४२ समूहका तीन सय ९४ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन ।

अनुमति लिनेमध्ये ९० जना महिला छन् । यस अघि सन् २०१९ मा तीन सय ८१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।

सगरमाथा आरोहीबाट यस वर्ष सरकारले ४७ करोड ७७ लाख भन्दा धेरै रोयल्टी संकलन गरेको छ ।

नेपालका अरु हिमाल आरोहणका लागि पनि उल्लेख्य आरोहीले अनुमति लिएका छन् ।

अहिलेसम्म १६ वटा हिमालका लागि ७९ समूहका ६ सय ८९ जनाले आरोहण अनुमति लिएका छन् ।

सन् २०१९ मा सगरमाथा आरोहणका क्रममा अत्याधिक भीड भएर शिखर नजिकै ट्राफिक जाम भएको चर्चा विश्वभर भयो ।

चुचुरो नजिक जाम हुँदा आरोहीको ज्यान जोखिममा पर्ने आलोचना भएपछि यो वर्ष आरोहणका लागि आलोपालो गरेर व्यवस्थापन हुने भएको छ ।

पर्यटन विभागले सूचना निकालेर सन् २०२१ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दा अनुमतिपत्र नम्बरका आधारमा आरोहण गर्ने व्यवस्था गरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.