Nepal Times
Nepal Times
3
Shares

सुनको मूल्य १ लाख नजिक, प्रतितोला ९९ हजार ८ सय कायम

सुनको मूल्य १ लाख नजिक, प्रतितोला ९९ हजार ८ सय कायम

२० साउन, काठमाडौं । सुनको मूल्य आज अहिलेसम्मकै उच्च प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो हुँदै गएको महासङ्घले जनाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो ।

नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजारमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले रेकर्ड बनाउँदै गएको छ ।

नयाँ रेकर्ड बनाउँदै असार अन्तिममा तोलाको ९२ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो । साउन लागेपछि थोरै घटबढ भएको सुनको भाउ गएको ७ गतेदेखि भने दिनदिनै नयाँ रेकर्ड बनाउने क्रममा छ ।

यही क्रममा हिजो स्थिर रहेको सुनको भाउ आज दुई सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने आज पनि स्थिर छ । चाँदी आज पनि प्रतितोला १२ सय ३० रुपैयाँमा नै कायम छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.