Nepal Times
Nepal Times
3
Shares

स्वास्थ्य मन्त्री भन्छन्, ‘पीपीईका गीत बजेनन् अब औषधिका आउँछन्’

स्वास्थ्य मन्त्री भन्छन्, ‘पीपीईका गीत बजेनन् अब औषधिका आउँछन्’

२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्दै शुभकामना दिएका छन् ।

उनले पार्टी भित्र र बाहिरबाट मति विग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिएकमा हुन् ।

मंगलबार थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति विग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरुद्ध लडन मति सप्रियोस भन्दै शुभकामना दिएका हुन् ।

उनले भने ‘आजको यो कृष्णअष्टमीको दिन मति विग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लडनका निमित्त मति सुध्रियोग भन्ने शुभकामना दिन चाहन्छु । चाहे ति मेरा घरभित्र बसेका हुन चाहे ति मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् । सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पु¥याउन सक्दैन् ।

उनले महामारीबाट बाँचियो भने सत्ताको लडाई फेरीपनि खेल्न सकिने भन्दै सरकारलाई सघाउन नेताहरुलाई आग्रह गरे । सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्ष पछि नै सत्ताको खेलमा लाग्न समेत आग्रह गरे ।

उनले भने ‘बाँचियो भने सत्ता प्राप्ती गर्ने लडाई फेरीपनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लडने यो नै अन्तिम युद्ध होइन् । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा लाग्दाखेरीपनि केही विग्रिदैन । स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिंडने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेला अनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले त्यहि ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन् । जनताको नजरमा हामी परीक्षमा नै छौं । सबैले जनताबाटै उत्तिर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाईलाई सहजतापूर्वक समाधान गर्न सक्छौं ।

उनले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताए । कुनैबेला पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको बताए । त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताए । अहिले सम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताए । जस्तोसुकै गीत आएपनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रष्ट पारे ।

उनले भने ‘गीतहरु बदलिबदलि आउने छन् । एक जमना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो । अव त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो । अब औषधिको आउने छ र भेन्टीलेटरको गीतहरु आउनेछन् । ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा शिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ ।’

मन्त्री ढकालले नेपालमा अहिलेपनि कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै रहेको बताए । संक्रमणको अवस्था समुदाय स्तरमा देखिएपनि नियन्त्रण्को स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने उनले बताए । अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्यहरु प्रभावकारी भएको बताए । महामारीको अप्ठेरोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.