२३ असोज, विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित २० वर्षीय बन्दी युवकको मृत्यु भएको छ । जिल्ला कारागारमा रहेका उनको शुक्रबार बिहान १०ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
कोशी अस्पताल विराटनगरको आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार बिहीबार बिहान ७.३० बजे भर्ना भएका युवकमा बिहीबार पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो ।
आइसोलेसनमा नै रहेको अवस्थामा शुक्रबार बिहान उनको मृत्यु भएको हो ।
चिकित्सकका अनुसार युवकलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो । तर कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरमा आईसीयू बेड खाली नभएका कारण अस्पतालकै आइसोलेसनमा राखिएको थियो ।
जिल्ला कारागार मोरङका जेलर सुवास लामिछानेका अनुसार मृतक युवक लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । २१ माघ २०७६ देखि उनी जिल्ला कारागारमा रहेका थिए ।
१५ असोजमा कारागारमै रहेका २७ वर्षीय पुरुषको मृत्यु भएको थियो । ९१८ जना कैदी बन्दी रहेको कारागारमा पाँच जनालाई कोरोना पोजेटिभ देखिएको छ ।