२७ आश्विन, परासी।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुटवलको नेसनल प्याथ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सामान्य ज्वरो र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको र आफू घरमै सेल्फ आइसोलेसनमा रहेको बस्यालले बताए ।
बस्यालले पछिल्लो पटक आफूसँग सम्पर्कमा रहेका व्यक्तिले सावधानीपूर्वक स्वाब परीक्षण गर्न र घर बाहिर ननिस्कन आग्रह गरेका छन् । पश्चिम नवलपरासीमा अहिले होम आइसोलेसनमा १ सय ५४ जना र क्वारेन्टाइनमा ५४ जना छन् ।
जिल्लामा कोरोना भाइरस संक्रमणबाट ८ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ५ जना पुरुष र ३ जना महिला रहेका छन् । जिल्लामा अहिलेसम्म ६ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ ।