२ कात्तिक, कैलाली ।
कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा ११ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु रहेकाे प्रहरी स्राेतले जनाएकाे छ। अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन । सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको बताए ।
विककाे धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ । विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन् ।
अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्जसमेत रहेका असई विक र प्रहरी जवान साउद नियमित गस्तीमा गएका बेला शनिबार रातिदेखि बेपत्ता भएका थिए । राति आठ बजेतिर नियमित गस्तीमा गएका उनीहरू १२ बजेतिर फर्किनुपर्नेमा नफर्किएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
अहिले घटनास्थलमा बेपत्ता रहेका जवान साउदको खोजीका लागि सशस्त्र प्रहरीको अत्तरियाकाे ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थलमा पुगेको छ ।