चितवन : पहाडी भेगहरूमा विद्यालय उमेरसमूहका बालबालिका हिजोआज डाँडा कन्दरामा भेटिन्छन्। घरको काममा उनीहरूको व्यस्तता बढेको छ। विद्यालय जान नपाएपछि बालबालिकालाई घाँस दाउरा गर्न भ्याइनभ्याइ छ। कोभिड संक्रमणको जोखिमले लामो समयदेखि विद्यालय बन्द छ। पढाइ नभएपछि घरको काम गर्नु उनीहरूको दैनिकी बनेको छ। उनीहरू घरको काममा बाबुआमालाई सघाउँछन्। कोही घाँसदाउरा गर्छन्, कोही बस्तुभाउ चराउँन जान्छन्।
देउजरका मात्रिका चेपाङले विद्यालय जान नपाएकोमा दुःखेसो पोखे। ‘स्कुल जान पाएको छैन घरमै काम गरेर बस्छ’, उनले भने, ‘स्कुल जान पाए त केही सिकिन्थ्यो होला, घरमै त्यसै बस्नु परेको छ।’ मात्रिका पूर्वी चितवनमा रहेको गामबेसी चेपाङ संरक्षण केन्द्रको छात्रावासमा बसेर पढ्थे। कोभिड संक्रमणले छात्रावास र विद्यालय बन्द छ। उनको घर कालिका नगरपालिका वडा नम्बर १० स्थित पहाडी क्षेत्र देउजरमा छ।
निजी विद्यालयमा भर्चुअल माध्यमको पढाइ भए पनि उनीजस्ता पहाडी भेगका विद्यार्थी त्यसको पहुँचबाट टाढा छन्। अहिले गाईबस्तु चराउनु र घरको बाँकी काम गरेर उनीहरूको दैनिकी बित्ने गरेको छ। पढाइ नभएपछि घरायसी काममा बालबालिका व्यस्त हुन थालेका छन्। इच्छाकामना गाउँपालिका—१ जाईथलीकी १२ वर्षीय गंगा चेपाङलाई विद्यालय जान रहर छ। उनी कक्षा छ मा पढ्छिन्। पढाइ नभएपछि घरको काम गरेर उनी बसिरहेकी छिन्, गंगाले भनिन ।
नियमित पढाइ नभएपछि विद्यार्थीले पढाइ बिर्सन थालेका छन्।, याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।