२५ कात्तिक, विराटनगर । मोरङको विभिन्न ठाँउमा आज मंगलबार एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
विराटनगरमा मृत्यु भएका आठजना अस्पतालमा थिए भने सुन्दरहरैंचाका संक्रमितको घरमै मृत्यु भएको हो ।
संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुईजना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको हो ।
झापा गौरादह–५ का ६५ वर्षीय वृद्धको नोबेल अस्पतालमा मंगलबार बिहान ८ः२५ बजे मृत्यु भएको छ ।
यसैगरी तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान करिब ८ः२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेल अस्पतालमै मृत्यु भएको छ ।
यस्तै उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ । उपचारका क्रममा मंगलबार बिहान करिब ५ः३० बजे उनको मृत्यु भएको हो अस्पतालले जनाएको छ ।
मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्धको पनि नोबेलमै मृत्यु भएको छ । उनको मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।
यसैगरी सुनसरीको इटहरी–५ की ६९ वर्षीय वृद्धाको विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनको मंगलबार बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
कोशीमै विराटनगर–३ का ७७ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनको मंगलबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ । उनको सोमबार राति ९ः५० बजे मृत्यु भएको हो ।
मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको भने आफ्नै घरमा ज्यान गएको छ ।
कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको हो ।