एजेन्सी । रुसले कोरोना भाइरसविरुद्धको खोपको मूल्य तोकेका छ । रुसी स्वास्थ्य मन्त्रालयले स्पुतनिक–५ नामक दुई डोज कोरोना खोपको मूल्य १ हजार ९ सय ४२ रुबल अर्थात ३ हजार ९१ रुपैयाँ तोकेको हो ।
रुसको ग्यामालेया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले गत अगस्टमा निर्माण गरेको उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र नकारात्मक प्रभाव नदेखिएको दाबी छ । यद्यपी उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको छ । अधिकारीहरुका अनुसार कोभिड–१९ बाट जोगिन पहिलो खोप लिएको तीन सातापछि दोस्रो खोप गरि दुई डोज लगाउनुपर्छ । एउटा बक्समा २ डोजको ५ वटा कोरोना खोपको सेट राखिएको छ । जसको मूल्य ९ हजार ७ सय १० रुबल अर्थात १५ हजार ४ सय ५५ नेपाली रुपैयाँ तोकिएको छ । रुसले आफ्ना नागरिकलाई भने खोप निःशुल्क रुपमा लगाउनेछ । रुसले कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरिसकेको छ । कोभिड–१९ का कारण उच्च जोखिममा रहेका मानिसलाई राजधानी मस्कोका क्लिनिकहरूमा खोप दिन थालिएको हो । उत्पादकहरूले यो वर्षको अन्त्यसम्ममा खोपको २० लाख मात्रा मात्रै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ ।