चन्द समूहका गतिविधिमाथि निगरानी बढाउन निर्देशन

२४ मंसिर ७७, बिहीबार

काठमाडौँ : करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई परिपत्र गरेको छ  ।

ब्यारेक र कार्यालय तथा चन्द समूहका गतिविधिबारे सूचना र सुराकी दिनेको सुरक्षामा पनि सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

चन्द समूहले मंगलबार मोरङको उत्तरी भेग मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको सुराकी आरोपमा घाँटी रेटी हत्या गरेपछि प्रहरी थप सतर्क बनेको हो । यसअघिका हिंसात्मक गतिविधिको चन्द समूहले सजिलै जिम्मा लिने गरेको थिएन तर मंगलबार मिक्लाजुङमा प्रधानाध्यापक श्रेष्ठलाई सुराकी गरेको आरोपमा हत्या गरिएको स्वीकार गरेपछि आतंक फैलिन सक्नेप्रति प्रहरी संवेदनशील बनेको हो । मिक्लाजुङको जस्तै घटना अन्य स्थानमा पनि दोहोरिन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले यसप्रति सचेत र चनाखो रहन सातवटै प्रदेश, महानगरीय प्रहरी कार्यालय र देशभरका संघीय इकाइ कार्यालयको ध्यानाकर्षण गराएको छ ।

Advertisement

मिक्लाजुङमा शिक्षकको घाँटी रेटी हत्या भएको भोलिपल्ट बुधबार बिहान प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले कार्यविभाग प्रमुख (एआईजी) हरिबहादुर पाल र विशेष ब्युरोका डीआईजी प्रकाशजंग कार्कीसँग चन्द समूहका गतिविधि नियन्त्रण र प्रहरीले लिने आगामी रणनीतिबारे छलफल गरेका थिए । त्यसपछि दिउँसो गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई मन्त्रालयमा बोलाएर चन्द समूहका गतिविधिबारे जानकारी लिएका थिए ।

गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईले प्रधानाध्यापकको हत्याको जिम्मा चन्द समूहले लिनुले उसका गतिविधि आतंककारीजस्तो देखिएको जनाउँदै यस विषयमा प्रधानमन्त्री तहबाटै आवश्यक निर्णय लिनुपर्छ कि भन्नेमा पनि छलफल भएको बताए । ‘शिक्षक हत्याको स्थिति हेर्दा आतंककारी गतिविधिजस्तो देखियो, यस्ता गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्रीको तहबाटै आवश्यक निर्णय लिनुपर्छ भन्ने पनि कुरा उठेको छ,’ उनले भने ।

Advertisement

बुधबारको सुरक्षा समीक्षा बैठकमा चन्द समूहका ‘आतंककारी गतिविधि’ लाई संयम र सुझबुझपूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने सुझाव सुरक्षा प्रमुखहरूले दिएका थिए । गृहमा बैठक सकिएपछि प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक परिपत्रमा भनिएको छ, ‘मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई सुराकी गरेको आरोपमा घरबाट अपहरण गरी नजिकै जंगलमा घाँटी रेटी हत्या गरेको हुँदा यस्ता प्रकृतिका घटना अन्य स्थानमा समेत हुन सक्ने भएकाले उक्त समूहका गतिविधि नियन्त्रण गर्नका लागि हातहतियार तथा सुरक्षा सामग्रीसहित दैनिक गस्ती र निगरानी बढाउने, कार्यालय, सुरक्षा ड्युटी, पालोपहरा एवं प्रहरीलाई सूचना दिने सूचकहरूको सुरक्षाका लागि समेत आवश्यक उच्च सतर्कता अपनाउने व्यवस्था मिलाउन हुन अनुरोध गरिएको छ ।’

यसअघि आफूनिकटका सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा चन्दले ‘पार्टीका नेता–कार्यकर्ताको सुराकी गर्ने, पिछा गर्ने, दुःख दिने र पार्टी गतिविधि नियन्त्रण गर्न परिचालित हुनेविरुद्ध जनमुक्ति सेनालाई कारबाहीमा उत्रिन’ निर्देशन दिएका थिए । यही मंसिर १ गते संखुवासभाको चैनपुर, मैदानेमा प्रहरीविरुद्ध चन्द समूहले आक्रमण गरेको थियो । त्यसअघि साउन १ गते चन्दले विज्ञप्तिमार्फत ‘संघर्षलाई सशक्त बनाउन, पार्टी र क्रान्तिका कामहरू गर्न तथा आवश्यकताअनुसार प्रतिरक्षा र प्रतिरोधात्मक कारबाही सञ्चालन गर्न’ निर्देशन दिएका थिए ।

चन्द समूहका गतिविधिमा २०७५ माघ २८ गते मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएको थियो । त्यसपछि केन्द्रदेखि स्थानीय स्तरसम्मका नेता/कार्यकर्ता भूमिगत हुनुका साथै चन्द समूह हिंसात्मक गतिविधिमा संलग्न रहँदै आएको छ । यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले १ हजार ९ सय ५० जनाभन्दा बढीलाई पक्राउ गर्नुका साथै १ हजार ८ सय ४८ जनालाई अदालत तथा जिल्ला प्रशासनमार्फत मुद्दा चलाएका थिए । त्यसमध्ये अहिले चन्द समूहका सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहित १ सय ४३ जना पुर्पक्षका लागि कारागारमा छन् भने केही प्रहरी हिरासतमा छन् ।

विशेष ब्युरोले सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मालाई २०७५ साउन २३ गते नागढुंगाबाट पक्राउ गरे पनि उनी अदालतको आदेशमा छुटे । त्यसपछि उनी पनि भूमिगत छन् । प्रतिबन्धकै क्रममा सरकारले चन्द समूहलगायतसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा २०७५ भदौ ८ गते ‘उच्चस्तरीय राजनीतिक वार्ता टोली’ गठन गरे पनि चन्द समूहले पक्राउ परेका कार्यकर्ता रिहा र मुद्दा फिर्तालाई पूर्वसर्त राखेपछि वार्ता अघि बढेको थिएन ।

वार्ताकै क्रममा २०७५ मंसिरअघि पक्राउ परेका नेता/कार्यकर्ता रिहा पनि भए तर त्यसपछि चन्दका कार्यकर्ता भूमिगत बनेका थिए । तत्कालीन वार्ता टोली संयोजक पाण्डेले पछिल्लोपटक लकडाउनयता पनि चन्द समूहसँग अनौपचारिक सम्पर्क र कुराकानीमै भए पनि ठोस प्रगति नभएको बताए । पछिल्लो पटक शिक्षक हत्याको घटनाले चन्द समूहले राजनीतिको आवरणमा हिंसा नै चाहेको हो कि भन्ने पनि संकेत गरेको उनको भनाइ छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top