नेकपा एमालेले आफ्नो पार्टीका उम्मेद्वारलाई सरकारले सुरक्षा नदिएको आरोप लगाएको छ।
प्रदेश सभाका उम्मेद्वार शेरधन राईमाथि आक्रमण भएपछि विज्ञप्ती निकाल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले माग गर्दा समेत संवेदनशील क्षेत्रमा उम्मेद्वारको सुरक्षा नभएको जनाएका हुन्।
विज्ञप्तीमा भनिएको छ – ‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका वामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्का आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ।
एमालेले वाम गठबन्धनका उम्मेद्वार वर्षमान पुन र जनार्दन शर्माको आक्रमणको समेत भत्सर्ना गरेको थियो।
एमालेले निर्वाचन भाड्ने र लोकतन्त्र विरोधीले उम्मेद्वारमाथि आक्रमण गरेको जनाएको छ। एमालेले निर्वाचनको उम्मेद्वारको सुरक्षा गर्न समेत माग गरेको छ। भोजपुरको ट्याम्केमैयुममा एमाले भोजपुरका प्रदेश सभाका उम्मेद्वार शेरधन राईमाथि आक्रमण भएको हो। आक्रमणमा परि उनका अंगरक्षक घाईते भएका छन्।