विराटनगर,जेठ १९
जारी एक्सेल्सिया प्रधानमन्त्री कप अन्तर्गतको आजको खेलमा विभागीय टोली एपीएफले प्रदेश १ लाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ ।
आजकै अर्को खेलमा प्रदेश ७ ले प्रदेश ३ लाई २ विकेटले हरायो । पराजित भएसँगै प्रदेश १ को यात्रा समाप्त भएको छ भने प्रदेश ३ को झिनो आशा कायम छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा ब्याटिङ रोजेको प्रदेश ३ ले ३४ औं ओभरमा १ सय १६ रन जोड्दै अल आउट भएको थियो ।
उसका लागि कप्तान जितेन्द्र सिंह ठकुरीले ४० तथा सोनु तामाङले २९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।
प्रदेश ७ का लागि शेर मल्लले ४ तथा विकास आग्रीले ३ विकेट हात पारे । जवाफमा प्रदेश ७ ले ८ विकेट गुमाउँदै ४० औं ओभरमा लक्ष्य पुरा गर्यो । प्रदेश ७ का लागि सन्जु दमाइले २५, विजय रानाले २४ तथा अरुण ऐरीले २१ रन जोड्दै जितको आधार तयार पारेका थिए ।
यता मुलपानी क्रिकेट मैदानमा प्रदेश १ ले पहिलो ब्याटिङको निम्तो पाएको थियो । ४२ ओभरमा सबै विकेट गुमाउँदै टोलीले १ सय २७ रन जोड्यो । उसका लागि सन्दीप ढुंगानाले शीर्षक्रममा २९, मिनाश थापाले २७ तथा कप्तान पुष्प थापाले २० रन जोडे । जवाफमा ब्याटिङ गरेको एपीएफले १७ औं ओभरमै लक्ष्य प्राप्त गर्याे ।
अनिल साहले ४८ बलमा ५ चौका र ३ छक्काको मदतले नटआउट ६२ रन बनाए । प्रदीप ऐरीले २३ रन जोड्दा पृथु बास्कोटा ३२ रनमा नटआउट रहे ।