धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराका जग्गा खाली

धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराका जग्गा खाली

काठमाडौँ, जेठ १९
धरहरा पुनःनिर्माणका लागि धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गर्न शुरु गरिएको छ ।

कर्मचारी सञ्चय कोषले निर्माण गरेका २३ वटा टहरा आज भत्काइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

कोषको पुरानो भवनमा जान बनाइएको बाटोमा टहरा बनाई भाडामा दिइएको थियो । ती टहरा भत्काइसकेपछि गोश्वारा हुलाक कार्यालय, नेपाल बैंक लिमिटेड र टक्सार विभागका भवन पनि भत्काइने महानगरपालिका नगर प्रहरीका प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।

तीनवटै भवन भत्काउन भने सरकारले निर्णय गर्नुपर्ने उनले सुनाए । भत्किएको धरहरा त्यही स्वरुपमा राखेर त्यस क्षेत्रको अर्को स्थानमा उही आकारप्रकारमा बनाउने तयारी गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

धरहरा पुनःनिर्माणका लागि नक्सांकनको काम अन्तिम चरणमा पुगेको छ । इच्छुक निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान समेत भइसकेकाले असार दोस्रो सातासम्म धरहरा पुनःनिर्माण शुरु गर्ने प्राधिकरणको लक्ष्य छ ।

महानगरपालिकाले ऐतिहासिक स्थलको जग्गा मिचेर बनाइएका २२ वटा संरचना गत शनिबार भत्काएको थियो । ती संरचना महानगरपालिकासँग साइज वाकस ट्रेडर्सले भाडामा लिई बनाएको थियो ।

सम्झौता अवधि २०८२ सालसम्म भएपनि धरहरा पुनःनिर्माणका लाग जग्गा खाली गरिएको महानगरपालिकाले जनाएको छ ।

ट्रेडर्सका सञ्चालक सिद्ध गुरुङ भने महानगरपालिकाले २४ घण्टाअघि सूचना दिएर गैर कानूनी तवरले सम्झौताविपरीत टहरा भत्काएको दाबी गर्छन् । महानगरपालिकाले भने पटकपटक भत्काउन दिएको सूचनालाई अटेर गरेकाले भत्काइएको जनाएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.