विराटनगर, जेठ २१
मुस्लिम समुदायका राष्ट्रिय पर्वहरुमा सरकारले कटौती गरेको बिदा पिर्ताको माग राख्दै नेपाल मुस्लिम संघ प्रदेश कमिटीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समिति लगायत मुस्लिम अगुवाहरुले आईतबार मुख्यमन्त्री राईलाई मुख्यमन्त्रीको कार्यालयमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
धर्म–निरपेक्षता सम्बन्धित संवैधानिक व्यवस्था विपरित वामपन्थी सरकारले मुस्लिम समुदायको पर्वको विदा कटौती गरेको विदा फिर्ता गरिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको मुस्लिम संघका केन्द्रिय सदस्य अब्जन हुसेन गुल्जारले जानकारी दिए ।
संविधानको धारा २२ मा भएको राज्यको निकायमा समानुपातिक समावेशी सहभागिताको हकको विपरीत राष्ट्रिय सभामा र अहिलेको सरकारमा एकजना पनि मुस्लिम समुदायको प्रतिनिधित्व नरहनु सरकारको मुस्लिम विरोधी भावना रहेको मुस्लिम संघको ठम्याई छ ।
नेपाल मुस्लिम संघले मुस्लिमको पर्व इद, बकरइद, हजरत मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने, मुस्लिमहरुले सदियौंदेखि भोगचलन गर्दै आएको कबरस्थानलाई कबरस्थानकै नाममा दर्ता गर्नुपर्ने, राज्यका हरेक निकायमा मुस्लिम समुदायको सहभागिताका लागि छुट्टै क्लस्टरको व्यवस्था गर्नुपर्ने, मदरसा शिक्षालाई राष्टिय मूलधारमा ल्याउन र व्यवस्थित गर्न अधिकार सम्पन्न राष्टिय मदरसा बोर्डको गठन गर्नुपर्ने, संवैधानिक मुस्लिम आयोग गठन गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।