१९ माघ, काठमाडौं ।
बहराइनका लागि नेपाली राजदूतावासले कोरोनाभाइरसबाट बच्नका लागि मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नलगायत स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गरेको छ ।
मनामास्थित राजदूतावासले आइतबार विज्ञप्ति जारी गरी बहराइन अधिराज्य सरकारले बहराइनी नागरिकसरह त्यहाँ कार्यरत् नेपालीलगायत सबैको हितका लागि कोरोनाभाइरसको खोप निःशुल्क उपलब्ध गराएकोमा धन्यवादसमेत व्यक्त गरेको छ ।
‘‘बहराइन सरकारले खोप कार्यक्रममा सहभागी भइनसकेकालाई नाम दर्ता गराउन बारम्बार आग्रह गरेकातर्फ राजदूतावासले यहाँ रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइको ध्यानाकर्षण गराउँदछ,’’ विज्ञप्तिमा भनिएको छ ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्रा लिइसकेको र उनमा स्वास्थ्यसम्बन्धी कुनै जटिलता महसुस नभएको समेत दूतावासले जनाएको छ । (रासस)