विसं २०७८ का लागि १४ वटा पात्रो प्रकाशन स्वीकृति

२० माघ ७७, मंगलबार

२० माघ, काठमाडौं ।

Advertisement

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७८ का लागि १४ पात्रो (पञ्चाङ्ग) लाई प्रकाशन स्वीकृति दिएको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला पञ्चाङ्ग, तारकेश्वर पञ्चाङ्ग, सूर्य पञ्चाङ्ग, आकाश दर्शन पञ्चाङ्ग, बगलामुखी पञ्चाङ्ग, शुभ पञ्चाङ्ग, बाबा गोरखनाथ पञ्चाङ्ग, कीर्ति पञ्चाङ्ग, सिद्धि पञ्चाङ्ग, खप्तड तारानाथ पञ्चाङ्गलाई स्वीकृति दिइएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

विगत वर्षमा पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्न समस्या भएकाले काममा ढिलाइ भएको थियो । ढिलो गरी काम शुरु गरिरहेका बेला मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेपछि काम गर्ने कि नगर्ने अलमल भएकाले पनि अर्को तीन हप्ता ढिला भएको उनले जानकारी दिए ।

Advertisement

पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । विसं २०७० मा वर्तमान समितिलाई गठन आदेश स्वीकृत नभएसम्मका लागि काम गर्नु भनी नियुक्तिपत्र दिइएको अध्यक्ष एवं धर्मशास्त्रका जानकार प्राडा रामचन्द्र गौतमले बताए । यही पत्रका आधारमा पुस २१ पछि समितिको काम ठप्प भएको थियो । माघ पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णय गरी अर्को समिति गठन नभएसम्म विसं २०७८ को पात्रो प्रकाशन र नियमित काम वर्तमान समितिबाटै चलाउने निर्णय गर्नुभएको पत्र पुगेपछि फेरि काम शुरु भएको थियो ।

समितिले सकेसम्म श्रीपञ्चमी नसके प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गतेसम्म पात्रो प्रकाशन गरिसक्ने जनाएको छ । १४ वटा पात्रोलाई प्रकाशनका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय भए पनि पञ्चाङ्गभित्र राखिने सामग्रीका बारेमा अहिले पनि छलफल चलिरहेको छ । पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ ।

Advertisement

पछिल्लो समय सामान्य मानिसले पनि बुझ्न भनी घडीपलालाई बजेमा रुपान्तरण गरेरसमेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ । यस वर्ष समितिले पनि आधिकारिक पञ्चाङ्ग निकाल्ने भएको छ । पञ्चाङ्गलाई स्वीकृति दिएपछि समितिको आधिकारिक पञ्चाङ्गका बारेमा मन्त्रालयमा छलफल गरी काम अघि बढाइने जनाइएको छ ।

मन्त्रालयले यस वर्ष समितिको आधिकारिक पञ्चाङ्ग निकाल्न पनि बजेट विनियोजन गरेको छ । आगामी वर्षदेखि समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भएको छ । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो ।

सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष गौतमले बताए । अन्य भित्तेपात्रो पात्रो सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल शुरु भएको समितिले जनाएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top