५ फागुन, काठमाडौँ ।
सरकारले फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ६० वा सोभन्दा बढी उमेरका नागरिकहरूलाई यही २३ गतेदेखि देशभरका खोप केन्द्रबाट खोप लगाइने जानकारी दिए ।
त्यस्तै कोरोना सङ्क्रमण कारण मृत्यु भएका व्यक्तिहरूको तथ्याङ्क समयमै नराख्ने तथा रिपोटिङ नगर्ने अस्पतालहरूलाई कारबाही तथा सचेत गराउने निर्णय भएको प्रवक्ता प्रा.डा. गौतमले बताए।
यस्तै, नेपालमा हालसम्म २ लाख ६३ हजार ४ सय ८६ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । माघ १४ गतेबाट सुरु भएको खोप अभियानमा ८४ प्रतिशत लक्षित व्यक्तिहरूले खोप लगाएकोमा हालसम्म कुनै गम्भीर स्वास्थ्य समस्या देखा नपरेको समेत मन्त्रालयको भनाई छ ।