६ फागुन, काठमाडौं ।
सरकारले कोभिड– १९ विरुद्धको खोप खरिद गर्न भारतको सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको छ ।
बिहीबार स्वास्थ्य सेवा विभागले कोभिशिल्ड खोप खरिदका लागि रकम भुक्तानी गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खोप खरिद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेको थियो ।
सरकारको निर्णयअनुसार सेरमलाई रकम भुक्तानी दिएको स्वास्थ्य शेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए । सेरमले दुई हप्ताभित्र खोप पठाउने बताएको छ र उक्त खोप आएपछि फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउन सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।
उनका अनुसार सेरम इन्ष्टिच्युटसंग प्रतिखोप ४ डलरका दरले सहुलियतमा खोप उपलब्ध गराउने सहमति भएको छ । खोप दुई चरणमा १०–१० लाख डोज उपलब्ध गराउने सेरम इन्ष्टिच्युट अफ इन्डियाको प्रतिवद्धता छ । नेपालको भण्डार क्षमता कम भएकाले एकै पटक खोप आयात गर्दा समस्या हुने देखिएको छ ।
भारत सरकारले गत ८ माघमा १० लाख डोज खोप अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोपसेवा सञ्चालन भइरहेको छ ।