विराटनगर,जेठ २७
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिलेको नभएको बताएका छन्।
विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै दाहालले आउँदो निर्वाचनको बेलामा त्यो विषय बहसमा आउनसक्ने भएको भएपनि अहिलेको एजेण्डा भनेको सुशासन, समृद्धि र विकासको भएको बताए।
आफूले अबको चुनाव आउने बेलामा यो विषय उठ्नसक्छ भनेको विषयलाई बढी प्रचार भएको उनले बताए। अध्यक्ष दाहालले तत्काल संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने सम्भावना पनि नरहेको बताएका छन्। पार्टी एकताको विषयमा कुरा भइरहेको भएपनि तत्काल त्यो सम्भव नरहेको भन्दै उनले राजपालाई पनि सरकारमा ल्याउने विषयमा छलफल भइरहेको बताए ।
संघीयताको पहिलो पटक प्रयोगमा गएका कारण केही विषय जटिलता देखिएको भएपनि यो प्रणाली असफल पार्ने नियतले कोही नआएको प्रचण्डको भनाइ थियो । कर्मचारी र राजनीतिक नेतृत्वको बिचमा आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीको विषयको बुझाइमा भने केही समस्या देखिएको उनको भनाइ थियो ।
उनले २ नम्बर प्रदेशमा पनि सरकार गिराउने र भत्काउने तिर लाग्न नहुनेमा जोड दिए । संघीय समाजवादी र राजपाबीचमा खटपट भएरै समस्या भएमा नयाँ सरकार बन्नसक्ने भएपनि त्यहाँको एजेण्डा पनि विकास र समृद्धि नै हुनुपर्नेमा प्रचण्डले जोड दिए।