म छोड्नेवाला चाहिँ छैन, अरु दुइचार वटा ब्याटल जित्न बाँकी छ : प्रचण्ड

२७ फागुन ७७, बिहीबार
Share this
735shares

२७ फागुन, काठमाडाैँ ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मर्न परेपनि तयार भएर केपी प्रवृत्ति माथि प्रहार गरेको बताएका छन्  । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान तथा मर्न परेपरी तयार रहेर केपी प्रवृत्ति माथि प्रहार गरेको बताएका हुन्।

केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभुति भएको उनको भनाई छ । देशको राजनीतिक परिवर्तनमाथि षडयन्त्रले हमला भइराखेको भन्दै उहाँले सजग भएर त्यस विरुद्ध आफ्नै खुट्टामा उभिएर लड्नुपर्ने बताए । अरुसँग एकिकृत हुँदा आफ्नो साथीहरु छुटेर कमजोर देखिएको भन्दै उनले आगामी दिनमा पुराना साथीहरु एकताबद्ध गरेर अगाडी बढ्ने बताए । उनले भने – ‘अब अहिले देशको परिस्थिती अलिकति जटिल छ । चुनौतीपूर्ण छ । मैले भनेकै थिए, केपी प्रवृत्तिका विरुद्ध मैले १९ पेजको डकुमेन्ट लेख्दै गर्दा मैले साच्चै नयाँ परिस्थितिमा फेरी अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभुति मलाई भएकै थियो भएकै छ । र त्यसले चिनियाँ आन्दोलनमा बमबार्द द हेडक्वाटर भन्ने हामी सबैले हिजो पढ्थ्यौँ नि । बुर्जुवा हेडक्वाटरमा बम बर्साउ । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, षडयन्त्रकारी लिडरशिपमाथि बम बर्साउ भन्या हो । मैले केपी प्रवृतिका विरुद्ध जानि बुझि यो सँग अब सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि म अब फेरी जेल जान परेपनि तयार, मर्न परेपनि तयार तर यो प्रवृत्तिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हो । तपाईहरुले सायद त्यो पढ्नु भएको छ होला । त्यो अहिले युद्ध भएर हिंसामा जाने कुरा त त्यहाँ मैले गरेको पनि होइन । अहिले नै त्यो परिस्थिति पनि होइन । तर जसरी युद्ध भनेको हिंसा सहितको राजनीति हो हामिले गरेको त राजनीति थियो नि त युद्धमा पनि । सामन्तवादका विरुद्ध, निरंकुशतन्त्रका विरुद्धको राजनीति गरेको हो युद्ध मार्फत । अहिले फेरी शान्ति मार्फत हामिले युद्ध गरेको हो । प्रतिक्रियावादी विचारका विरुद्ध, प्रवृत्तिका विरुद्ध, दक्षिणपन्थका विरुद्ध, फेरी एउटा नयाँ युद्ध गरेकै हो । त्यो युद्ध अहिले चलिराखेको छ कमरेडहरु । त्यो युद्ध अहिले चलिराखेकै छ । हामीले संसद विघटनका विरुद्धको यो संविधान खारेज गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र नै खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौँ । र त्यो ब्याटल त हामीले जित्यौँ तर हामीले वार चाहिँ जितेका छैनौँ । अझैपनि ठुल्ठुला षडयन्त्र भइराख्या छन् । तपाइ हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तन माथि हमला भइ नै राखेको छ । त्यसकारण हामी सबै सजग भएर फेरी एकपटक आफ्नै खुट्टामा उभिने । हामीले यो सँग मिले होला कि त्यो सँग मिले होला कि यो गरे होला कि त्यो गरे होला कि भनेर धेरै गरियो । तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल चाहीँ कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै पनि हो । अहिले फेरी हामी आफ्नो धरतीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, आफ्नै पुराना साथीहरुलाई एकताबद्ध गर्ने । अब सबै क्रान्तिहरु माथि नै भरपर्ने । क्रान्तिकारी विचार र क्रान्तिकारी साथीहरु माथि नै भर परेर मात्रै यो लडाइँ जित्छौँ भन्ने विश्वासले नै मैले नयाँ जनयुद्ध शुरु गरेको पनि हो ।’

Advertisement

अध्यक्ष प्रचण्डले राजनीतिक उपलब्धी र आन्दोलनको रक्षाको निम्ति आफुले देशव्यापी अभियान चलाउने समेत बताउनुभयो । दुईचार वर्ष जनताको बिचमा गएर अभियान सञ्चालन गर्ने उनको भनाई छ । उनले भने– ‘फेरि जनतासँग जोडिने, फेरी देशव्यापी अभियान चलाउने तिर मैले सोचिराखेको छु । म काठमाडौंभन्दा अभियानमा बढी बस्ने विचार छ । फेरी दुईचार वर्ष जनताको विचमा गएर किनभने प्रतिक्रियावादी देश भित्र र बाहिरकाले निकै ठुलो षडयन्त्र हाम्रा राष्ट्रका विरुद्ध, हाम्रो आन्दोलनका विरुद्ध,हाम्रा उपलब्धी, परिवर्तन र उपलब्धी माथि धावा बोल्ने कोसिस गरेका छन् त्यसलाई परास्त गर्नुछ । मलाई विश्वास छ हामीले परास्त गरिन्छ । हामीले आफ्नै धरतीमा टेकेर मात्रै परास्त गर्न सकिन्छ । हामी आफ्नै शक्तिमा भर परेर मात्रै परास्त गर्न सकिन्छ । हामि देशका सबै सहर बजारका टोल टोल गल्ली गल्ली र गाउँघर पाखा पखेरा सबैतिर मजदुर किसान जसरी हिजो हामिले दलित, महिला, मुस्लीम आदीबासी जनजाती, मधेसी सबै सबै वर्ग तहतप्काका जनतालाई अधिकार सम्पन्न गर्ने लडाइँ लड्यौँ र हामीले जित्यौँ । हामी फेरी एकचोटी अभियान चलायौँ भने अहिले युद्ध गर्नुपर्ने स्थिति छैन । अहिले शान्तिपूर्ण ढंगले नै हामी आफ्नो खुट्टामा उभिएर जनतासँग जोडिने अभियान चलायौँ भने प्रतिक्रियावादीहरु परास्त हुन्छन् । हामी जित्छौँ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले उमेरको कारणले आफु पछि नहट्ने पनि बताउनुभयो । अझैपनि क्रान्तिमा अगाडी बढ्ने भन्दै अध्यक्ष प्रचण्डले आफुले क्रान्तिको नेतृत्व नछाड्ने स्पष्ट पारे । उनले भने –‘एकचोटी फेरी कोर्स करेक्शन गरेर प्रतिक्रियावाद र अवसरवादका विरुद्ध लड्न अगाडी बढ्नुपर्छ भन्ने संकल्प मैले लिएको छु । यद्यपी, जनयुद्ध शुरु गर्ने बेलामा म ४२÷४३ वर्षको थिँए । अब अहिले ६६÷६७ वर्षको भएँ । उमेरले कति दिन्छ भनेर पनि कतिपयले भन्छन् ल अब उमेर भएका त छोडिदिनुपर्छ भन्छन् । म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी फेरी क्रान्तिमा अगाडी जानेमा छु । तपाईहरु यो कुरामा चाहीँ विश्वस्त रहनुहोला । म छोड्नेवाला चाहिँ छैन । म लड्नेवाला नै छु । मैले लडे अहिलेपनि एउटा ब्याटल त लडे मैले अहिले र त्यो बाटल हामीले जित्यौँ पनि । र अरु दुइचार वटा ब्याटल जित्न बाँकी छ । र हामीले जित्नैपर्छ ।’

Advertisement

अध्यक्ष प्रचण्डले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरुलाई पार्टीमा उचित स्थान दिएर राखिने पनि बताए । आगामी केन्द्रिय समितिको बैठकले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरुको बारेमा विशेष निर्णय गर्ने पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top