५ जेठ, ललितपुर । ’वाइल्ड कार्ड’ (सिधै सहभागी हुने प्रक्रिया) बाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरको सातदोबाटोमा रहेको कर्भडहलमा व्यस्त छन् ।
अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरूको लक्ष्य ओलम्पिक सहभागिता रहेको छ ।
कोरोनाको दोस्रो लहर काठमाण्डौ उपत्यकामा उच्च गतिमा फैलिरहेको छ । तर पनि टोकियो ओलम्पिक तयारी गरिरहेका कराँते खेलाडीले स्वास्थ मापदण्ड पूर्णरूपमा पालना गर्दै तयारीलाई तीव्रता दिइरहेका छन् ।
अनु अधिकारी र नविन रसाइली वाइल्ड कार्डमार्फत सहभागिता जनाउने लक्ष्यका साथ मेहनत गरिरहेका छन् । खेलाडीलाई अभ्यास दिइरहेका कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले महामारीकाबीच पनि तयारी गरिरहेको बताए ।
वाइल्ड कार्डबाट ढोका खोल्ने लक्ष्य राखेका खेलाडीले २०२१ मा जापानमा हुने ओलम्पिकका लागि अभ्यासलाई निरन्तरता दिइरहेका हुन् । नेपाली कराँतेले इतिहास रचेको सबैमा सर्वविदितै छ ।
टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्षका लागि धकेलिए पनि तयारी गरिरहेका खेलाडीमा महामारीले अन्योल छाएको छ ।