१० असार, काठमाडौं ।
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगर सभा मार्फत महानगरपालिकाका उप–मेयर पार्वती शाह ठकुरीले अनुमानित आय व्ययसहितको सो बजेट प्रस्तुत गरेकी हुन्।
आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी बजेट ल्याइएको हो । भरतपुर महानगरपालिकाले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु २ करोड बजेट छुट्याएको छ ।
महानगरपालिका भित्रका सबै वडाहरूको समानुपातिक विकासका लागि प्रति वडा १ करोड ७० लाखका दरले ४९ करोड ३० लाख,भौतिक पूर्वाधार तथा सहरी विकासका लागि ४१ करोड,शिक्षा क्षेत्रको विकास एवं सुधारका लागि १२ करोड ५० लाख,स्वास्थ्य सेवा क्षेत्रमा ९ करोडका साथै महानगर कोभिड–१९ नियन्त्रण तथा प्रभावकारी उपचारका लागि १ करोड ९० लाखको कोष बजेट समेत छुट्याइएको महानगरले जनाएको छ ।